विराटनगर । चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक मिल्स भेट्रान्स क्लब ९निलो० ले जितेको छ ।
विराटनगरस्थित जुट मिलको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा सुनसरीको ‘हाम्रो इटहरी भेट्रान्स क्लब’ लाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।
उपाधिसँगै आयोजक मिल्स भेट्रान्सले नगद ८१ हजार १११ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता बनेको इटहरी भेट्रान्सले नगद ४१ हजार १११ रुपैयाँसहित ट्रफीमा चित्त बुझायो ।
आयोजकको जितमा डेनिम राईले निर्णायक गोल गरे । कप्तान रानु राना मगरले डि–बक्स बाहिरबाट उपलब्ध गराएको उत्कृष्ट क्रस पासलाई सदुपयोग गर्दै राईले बललाई जाली चुमाएका थिए । सोही गोल नै टिमको जितका लागि पर्याप्त बन्यो ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ आयोजककै दिलीप बास्कोटा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए । त्यसैगरी, आयोजककै सुरज श्रेष्ठ प्रतियोगिताको सर्वाधिक गोलकर्ता ९हाई स्कोरर० बने । उनले प्रतियोगिताभर कुल ३ गोल गरेका थिए । प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ भने कोमल खवास घोषित भए ।
कोशी प्रदेशका वन तथा पर्यटनमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो । विजेता तथा उपविजेता खेलाडीहरूलाई विराटनगर–१६ का वडाअध्यक्ष उद्धवकुमार भुजेल, मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराई लगायतले पुरस्कार वितरण गरेका थिए ।
गत फागुन ६ गतेदेखि मिल्स भेट्रान्स क्लब, रानीको आयोजनामा सुरु भएको यस प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।
































