पछिल्लो समय सामाजिक सञ्जालले गर्दा मानव जातिलाई अल्छे बनाएको छ । कवि लेखकहरु पनि त्यो सेहेँबाट अछुतो छैनन् । बजारमा किताबहरु एकपछि अर्को आउने क्रम छ । तर पाठकको सङ्ख्या घट्दो छ । पछिल्लो आँकडालाई हेर्ने हो भने प्रायःजसो आफ्ना निकटहरुमार्फत् केही पुस्तकहरुले बजार तताइटोपलेको पाइन्छ । यद्यपि केही पुस्तकहरुले पाठकलाई तान्छ नै । पछिल्लो समयमा म पनि अल्छे ग्रुपमा पर्छु । यद्यपि प्रिय गीतकार एवम लेखक राज बान्तवाजीको उपन्यास ‘माइला दमाई’ हातमा आइपुग्यो । पहिलो प्रथमतः उपन्यासको नामले नै तान्यो । अर्को कुरा, हतुवागढीमा साहित्यको निम्ति धेरैपल्ट ओहोरदोहोर गर्ने गरेको छु । एक किसिमले मेरो साहित्यिक गन्तव्य पनि हो त्यो माटो र त्यहाँका परिवेश । र छ बाक्लो सङ्गत त्यहाँका साहित्यिक कलमकर्मीहरुसँग । त्यो मानेमा पनि यो उपन्यास मलाई खास लागेको हुनुपर्छ ।
जब उपन्यासभित्र प्रवेश गरेँ, तब त्यहाँभित्रका विषयवस्तुले पनि साँच्चै नै तान्यो । समाजकै बालीघरे र इष्टहरुले दिएको भागले जीवन जिउनुपर्ने नियती छ माइला दमाईको । त्यहाँभित्रका घटना परिघटनाहरु दर्दनाक छन् । पीडाहरु उस्तै कष्टकर छन्, दलित भएर उच्च जातिहरुसँग घुलमिल हुन कति गाह्रो हुन्छ भन्ने दृष्टान्तहरु भेटिन्छन् छन्, माइला दमाईभित्र । माइलाको परिवार हुर्के बढेसँगै उनको परिवारमा केही समस्याहरु आइपर्छन् । सहजीकरणका निम्ति गाई पाल्दा दूध सबै जातिले खाँदैनन् ।
माइलाको परिवारमा ‘सुँगुर पालेर मासु बेच्दा सबैले खान्छन्’ भन्ने एउटा संवाद भेटिन्छ । जुन संवादले जातीय विभेद र दलितहरुले भोगिरहेका पीडाहरु छर्लङ्ग देखिन्छ । माइला दमाईको जीवन उसै पनि कष्टकर छँदैछ अझ उनकी जेठी छोरी र राम्चेबीचको अनैतिक सम्बन्ध तत्पश्चात् राम्चे नामर्द भएर बेपत्ता भएपछिको माइला दमाईले पाएको हण्डर बहुत कारूणिक छ । आफ्नो फूलजस्तै छोरीलाई लठेब्रो ज्वाइँलाई दिइपठाउँदाको घिट्घिटोले पछिसम्म सताइरहन्छ माइलालाई । समाज फेरिँदो क्रमसँगै अनि पछिल्लो समय आधुनिकतासँगै भित्रिएको रेडिमेड कपडाले माइला दमाईको कलहरुको उति धेरै काम नभएको वर्तमानले आफ्नो पुख्र्यौली व्यवसायहरु खतरामा परेको अवस्था झल्काउँछ । यिनै अवस्थाहरु सिर्जना भइरहने हो भने पुर्खाहरुसँग जोडिएका मौलिक पेसा व्यवसायहरु लोप हुनेतर्फ पनि सङ्केत गरेको छ यो उपन्यासले ।
उसो त उपन्यासमा प्रगतिशील र समाज परिवर्तनको आवाज पनि बुलन्द गरिएको छ । सन्ते र कान्छीको प्रेमले पाएको सार्थकताले शदियौँदेखिको जातीय विभेदलाई चुनौती दिँदै सन्तेले कान्छीलाई भिœयाउनुले सन्ते समाज परिवर्तनको संवाहकको रुपमा उभिएको देखिन्छ । सन्तेले समाज परिवर्तनको निम्ति उठाएको कदममा समाजका बुज्रुक जयमान विष्ट, ख¥याङ, रातमाटे र दिदीबहिनीहरुले साथ दिएका छन् । यद्यपि समाजका अधिककांशले उनीहरुको अन्तरजातीय विवाहलाई स्वीकार नगरेपछि सन्ते र कान्छी गाउँ छाड्न बाध्य हुन्छन् । सन्तेले समाजलाई कायापलट गर्छु भनेर हुङ्कार फुके पनि त्यो पर्याप्त हुन्न । लेखकले यहाँ सन्तेलाई विरोधाभास बनाएको जस्तो देखिन्छ । सन्तेलाई एकातिर परिवर्तनकारी देखाउन खोजिएको छ भने अर्कातिर उनलाई विलासिएको देखाइएको छ । सन्तेले कि त्यही माटोमा अरु सङ्घर्ष गरेको हुनुपथ्र्यो कि चैं पछि उन्नति र प्रगतिसँगै गाउँ फर्केको प्रसङ्ग राखिएको भए सन्तेको प्रगतिशील विचारले सार्थकता पाउँथ्यो कि भन्ने आम पाठकलाई लाग्न सक्छ ।
अर्कोतर्फ जातीय मुक्तिका निम्ति गाउँमा हरेक अभियान र धर्महरु प्रवेश गरिरहेको वर्तमान परिवेशलाई पनि लेखकले उजागर गरेका छन् । समाजलाई मुक्ति गराउने नाममा प्रभु माइला क्रिश्चियन धर्मको प्रचारकको रुपमा गाउँ प्रवेश गरेपछि माइला दमाईलाई अनेक आश्वासन दिएर क्रिश्चियन धर्मावलम्बी बनाउन खोजेका छन् । रुढीवादी परम्परा र जातीय विभेद सदाका लागि अन्त्य हुने र मरेपछि स्वर्गमा पुगिने आश्वासन दिँदा माइला दमाईले धेरै विचार गरेर पुस्तौंदेखि मानीआएको रीतिरिवाज र संस्कारलाई बिटुलो पार्न नहुने निष्कर्षमा पुग्छन् । प्रभु माइलाले सिङ्गो गाउँलाई नै इसाइ धर्मावलम्बी बनाउने सपनासमेत देखेका छन् । तर माइला दमाई बरु पुस्तौंदेखि चलिआएको बाधा गर्ने संस्कार र रीतिरिवाजलाई परिमार्जन गर्नुपर्नेमा जोड दिन चाहन्छ ।
माइला मौलिकतालाई भुलेर स्वर्ग जान चाहँदैन अनि आफ्नो संस्कृतिलाई बिटुलो पार्ने आयातित धर्म वा संस्कृतिलाई अवलम्बन गर्नु भनेको आफ्ना पिता पुर्खाहरुमाथि अपमान गर्नु हो, उनीहरुमाथिको उपेक्षा हो भन्ने पक्षमा छ । स्वार्थ र आफ्नो मनोकाङ्क्षा पूरा गर्न पुर्खाहरुमाथि अपमान गर्न नहुने बुझाइ छ माइलाको । माइलाकी छोरीले सुख सुविधाको नाममा धर्म परिवर्तन गर्दा अछुत नभइएला तर हामी समाजबाट झन् परपर हुने, समाजले दिएको यो मायामा पनि गिरावट आउँछ र समाजले अरु घृणा गर्छ । अझ दलितहरुले न्याय र समान्ताको लागि लड्न हामी यही मौलिक धर्ममा रह्यौँ भने मात्र सम्भव हुन्छ नत्र त कानूनसम्मत लड्ने नैतिकतासमेत गुम्न सक्छ । बरु दिनानु दिन हामी समाजबाट छि छि र दुर दुर सहनुपर्ने कुरा दर्शाएपछि माइला अरु चनाखो हुन्छ र माइला आफ्नो छोरीको पढाइप्रति गौरवान्वित हुन्छ । माइलाले अब माइला दमाई हैन, दमाई माइला लेख्ने अठोट गर्छ ।
अर्को कुरा, माइलाले आफ्नो थरमा आफूले गन्दुलाल नेपाली लेखाए पनि आउने बाँकी रहेका सन्तानलाई चैँ नेपाल बनाउनु पर्यो भन्ने मनसाय व्यक्त गरिनुले माइलाको महानता झल्किन्छ । अनेक जातजाति अनि जातजाति विच हुने भेदभाव हुनुभन्दा सबै नेपाल जाती भए हामी सबैको जात नै नेपाल हुन्छ भन्ने माइलाको भनाइले सिङ्गो राष्ट्रलाई गोलबद्ध गराउछ भन्ने शुभेच्छा छ । उपन्यासमा माइलाले केही विभेद या अपमान सहेपनि उनी माझकिरातका किरात राईहरुको मायाममता र प्रेममा हुर्केका छन् । सायद उनीहरुकै माया सद्भाव पाउँदै जाँदा उसले २–४ रोपनी जग्गा जोडेको छ । आसपासका दलितहरुभन्दा माइला मिहिनेती, चङ्खो र सिपालु छन् । अन्य दलितहरुजस्तो खान र लाउनकै निम्ति धौ धौ छैन उनलाई, यद्यपि आफ्नो पुख्र्यौली पेसाको धर्म उ छाड्न चाहदैन । कामै नभए पनि फाटेको लुगाहरु भए पनि टालटुल गर्ने गर्छन् । यसले के कुरा प्रष्ट्याउँछ भने ऊ आफ्नो पितापुर्खा र उनीहरुको पेसाको निम्ति समर्पित छ ।
उपन्यासमा ग्रामिण परिवेश र माझ किरातलाई सर्लक्कै टिपिएको छ । राई बान्तावा भाषाको धेरै प्रयोग हुनु, गाउँ घरको ठेट र झर्रो शब्दहरुको प्रयोगले उपन्यासलाई पठनीय बनाएको छ । अनि माझ किराततिरका पाठकले त झनै अपनत्व महसुस गर्नेछन् यो कृति । नुधे र लाहुरेनीको प्रेमले यो उपन्यासलाई प्रेमिल बनाएको छ । साथै विधवाहरुले स्वतन्त्र रुपले नयाँ जीवन जिउन पाउनुपर्छ भन्नेमा पनि उपन्यासले जोड दिएको छ। लाहुरेको बुबाआमाले लाहुरेनी बुहारीलाई नुधेसँगको सम्बन्धलाई स्वीकार गर्नुले त्यसको सङ्केत गर्दछ । अर्को तिर, आदिवासी जनजाति समुदाय अन्धविश्वास र परम्पराभन्दा केही माथि छ भन्ने दृष्टान्त पनि हो यो उपन्यास । उपन्यासमा यौन पक्षलाई आवश्यकभन्दा बढी नै प्राथमिकता दिएको हो कि भन्ने अनुभूति हुन्छ उपन्यास पढ्दै गर्दा ।
अन्ततः उपन्यासकार राज बान्तावाको पहिलो उपन्यास भएर पनि माइला दमाई पहिलो कृति हो भन्ने महसुस हुन्न । बेलाबखत लेखिरहने लेखकको आभास हुन्छ उपन्यास पढिरहँदा । किताबभित्र अन्य कुराहरु पनि गौण होलान् यद्यपि यहाँ आफूले देखे, भेटेका कुराहरु राखियो । बाँकी रहेका कुराहरु लेख्ने अन्य समिक्षक तथा समालोचकहरुको । अहिलेलाई आख्यानकार राज बान्तवा र उनको कृति माइला दमाईलाई सफलताको शुभकामना ।































