धरान । धरान–१६ स्थित धरान रङ्गशालाको तल्लो खेलमैदानमा सुनसरी जिल्ला जुडो सङ्घद्वारा आयोजित कोशी प्रदेशस्तरीय जुनियर जुडो प्रतियोगिता सम्पन्न भएको छ । 

जम्मा १३ विधामा खेलाइएको खेलमा पुरुषतर्फ ७ विधा र महिलातर्फ ६ विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा मोरङको काइजेन जुडो डोजोले ९ वटा स्वर्ण  पदक, सुनसरी जुडो सङ्घले ४ वटा स्वर्ण पदक जितेका छन् ।

धरान उपमहानगरपालिकाको सहयोगमा आयोजित कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघा र अन्तर्राष्ट्रिय रेफ्री एवम् प्रशिक्षक नेपाल जुडो महासङ्घका वरिष्ठ प्रशिक्षक चन्द्रकुमार डङ्गोलले विजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । 

उक्त खेलमा महिलातर्फ माइनस १७, २२,२५,२८,३२ र ३७ केजी र पुरुषतर्फ माइनस २०,२५,३०,३५,४०, ४५ र प्लस ४५ केजीका खेलाडीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा रेफ्री तथा प्रशिक्षक एवम् खेल निर्देशक राजभाइ शुद्धकार, सुनसरी जिल्ला जुडो सङ्घकी उपाध्यक्ष एवम् प्रशिक्षक रोशनी राई, विराटनगर काइजेन जुडो डोजो मोरङकी प्रशिक्षक चन्द्रकला बस्नेत राणा (सुजता) लगायत उपस्थित रहेका थिए ।