भद्रपुर । झापास्थित मेची क्याम्पसको क्रिकेट ग्राउन्डमा पन्ध्रवर्षपछि अन्तर्राष्ट्रियस्तरको कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुने कोशी प्रतियोगिताको तयारी पूरा भइसकेको आयोजकले जनाएको छ । कोशी पर्यटन वर्षका अवसरमा प्रदेश सरकारको सहयोगमा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको मूल आयोजक समितिका संयोजक गौरव सुब्बा (मनोज)ले जानकारी दिए ।
क्रिकेट पिच, मैदान, बाँसे प्यारापिट, स्कोर बोर्ड, पेविलियन लगायत अन्य तयारीको काम धमाधम भइरहेको भद्रपुर क्रिकेट क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । ग्राउण्डमा ८ हजार दर्शक अटाउने र प्रतियोगिता हेर्न कुनै प्रवेश शुल्क नलाग्ने उनको भनाइ छ ।
प्रतियोगितामा भारतका चार टिमसहित आठ टिम सहभागी हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, फ्रेन्डस् यूथ क्लब डडेलधुरा, डेभलपमेन्ट स्क्वाड, पोखरा एभेन्जर्स गण्डकी हिरोज डेभलपमेन्ट स्क्वाड र काठमाडौं गोर्खाज डेभलपमेन्ट स्क्वाडल रहेका छन् ।
त्यस्तै भारतको तर्फबाट राइनोल्यान्ड क्रिकेट एकेडेमी गुवाहाटी, ग्लोबल स्टार क्रिकेट क्लब लखनऊ, क्रिकेट कोचिङ उपाध्याय एकेडेमी न्यु दिल्ली र स्नो लायन टिम सिक्किम रहेको आयोजकले जनाएको छ । नेपालका क्लबहरूमा राष्ट्रिय टोलीका खेलाडीबाहेक एनपीएल खेलिसकेका खेलाडीहरू र भारतका क्लबहरूमा रञ्जित ट्रफी खेलिरहेका खेलाडीहरूको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए ।
एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ, मेडल र ट्रफी पाउनेछन् भने उपविजेताले नगद तीन लाख रुपैयाँ, मेडल र ट्रफी प्राप्त गर्नेछन् ।
यसअघि २०६५ जेठ २१ गते नेपाल क्रिकेट सङ्घ र मेची बहुमुखी क्याम्पसबीच क्याम्पस परिसरमा क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो । सङ्घको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टीका प्याकुरेलले हस्ताक्षर गरेपश्चात् क्रिकेट सङ्घले क्रिकेट पिच बनाइदिएको थियो । खेल मैदान तयारी भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागितामा २०६७ फागुनमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । सो प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले उपाधि जितेको थियो ।
त्यसपछि कुनै प्रतियोगिता नभएर ओझेलमा परेको जीर्ण क्रिकेट मैदानलाई पुनः सञ्चालनमा ल्याउनका यहाँका उद्योगी, व्यवसायी, जनप्रतिनिधि र खेलप्रेमीले २०८० सालमा भद्रपुर क्रिकेट क्लब गठन गरेका थिए। त्यसपछि मेची क्याम्पससँग १९ बुँदे सम्झौता गरी खेल मैदान २५ वर्षसम्म लिजमा लिएको क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
त्यस्तै भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले यो क्रिकेट ग्राउण्डको संरक्षण नगरपालिकाले गर्ने बताए । नगरपालिकाले निर्माणाधीन भवनसहितको ग्राउण्ड बनाउन १५ लाख रुपैयाँ छुट्टाउँदै सम्झौता गरिसकेको उनले जानकारी दिए ।






























