धरान । स्वर्गीय रेवाहाङ राईको स्मृतिमा आयोजित चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा हिमालयन कलेजले जितेको छ ।

आइतबार कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अङ्कको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । बास्केटबल प्रशिक्षक युगल माबो लिम्बूका अनुसार विजेता धरान मेघाले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरी प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर धरान मेघाका निश्चल मगर घोषित भए । उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी पाए । यस्तै राइजिङ प्लेयरतर्फ लोटस इङ्लिस बोर्डिङका शुभम शाही घोषित भए । उनले नगद एक हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । 

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप, कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, कलेजका प्रिन्सिपल भाष्कर पौडेललगायतले पुरस्कार वितरण गरे ।  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले धरान खेलकुद क्षेत्रमा अग्रणी रहेको उल्लेख गर्दै यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरान मेघा कलेजले प्रतियोगिता आयोजना गरी खेलाडीलाई प्रोत्साहन गरेको भन्दै स्थानीय सरकारले पनि आवश्यक सहयोग गर्ने बताए । कोशी प्रदेशसभा सदस्य विजय राईले खेलकुद विकासमा सबैको साझा पहल आवश्यक रहेकोमा जोड दिए ।

स्वर्गीय रेवाहाङ राईको २०७७ साल माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो । उनका बुबा रेवतीरमण राई र आमा सुजता राईले उनको स्मृतिमा अक्षयकोष स्थापना गरी यस प्रतियोगितालाई निरन्तरता दिँदै आएका छन् । माघ ६ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।