धरान । सुनसरीको धरान–१६ स्थित सियोन स्कुलमा जुनियर र सिनियर समूहमा गायन र नृत्य विधातर्फ ‘सियोन ट्यालेन्ट हन्ट’ मा सिनियरमा सृष्टि लिम्बू र जुनियरमा लासेमी लिम्बू च्याम्पियन बनेका छन् ।
नृत्यतर्फ कक्षा ११ विज्ञान सङ्कायकी सृष्टि विजेता बन्दा नृत्यकै जुनियरमा कक्षा ५ की लासेमी विजेता बनिन् । सियोनमा बिहीबार आयोजित सियोन मेला तथा ट्यालेन्ट हन्टमा उनीहरू च्याम्पियन बनेका हुन् ।
सिनियरतर्फ दोस्रो स्थान कक्षा ११ की विज्ञान सङ्कायकै रोयन राई र तेस्रो कक्षा ११ का स्वीकृति श्रेष्ठले जितिन् । यता जुनियरतर्फ दोस्रोमा कक्षा ६ की कृति राना मगर र तेस्रोमा कक्षा ५ की सिद्धार्थ तामाङ घोषित भए ।
विजेता, उपविजेतालाई क्रमशः नगद पाँच हजार, दुई हजार र एक हजार रुपैयाँसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ । यस्तै गायनको सिनियरमा कक्षा ११ व्यवस्थापन सङ्कायका सजन तोलाङ्गी, दोस्रो कक्षा ९ का ग्रेसी ब्लोन तामाङ बन्दा गायनको जुनियरमा कक्षा ६ का प्रज्वल पोखरेल विजेता बन्दा कक्षा ७ का पेन्छेन तामाङ दोस्रो बने । उनीहरूलाई क्रमशः नगद दुई हजार र एक हजार रुपैयाँसहित ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको स्कुलका जनसम्पर्क अधिकृत मानबहादुर थापा मगरले जानकारी दिए ।
यस्तै मेलामा विद्यार्थीहरू आफैले विभिन्न खानेकुराहरू प्रदर्शन गरेका थिए । साथै किनबेच पनि गरिएको थियो । विद्यार्थीहरूले सेलरोटी, आलुदम, लड्डु, पेडा, बुनियाँ, आलु निम्की, चट्पटे, चिकेन विङ्सलगायतका खानाका स्टलहरू राखेका थिए । विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक ज्ञान दिने उद्देश्यले कार्यक्रम गरिएको सहायक प्रिन्सिपल राकेश चौधरीले जानकारी दिए ।
स्कुलका वित्तीय व्यवस्थापक एल्कन मगरको अध्यक्षतामा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा, धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान सुनसरीका प्रमुख अनिल माबोलगायतको उपस्थिति रहेको थियो ।
































