धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्वर्गीय कृष्णकुमार राई धरानका लागि कुनै पनि वर्ग, समुदाय वा विचारधाराले विमति गर्न नसक्ने सर्वमान्य व्यक्तित्व भएको बताएका छन् ।  उनले वामपन्थी विचारधाराका भए पनि सबैसँग समान व्यवहार गर्ने सालिन नेताका रूपमा राईलाई स्मरण गरे । 

गत पुस २७ गते असामयिक निधन भएका स्व. राईको स्मरणमा नेकपा (एमाले) क्षेत्रीय कमिटी सुनसरी–१ को आयोजनामा  शुक्रबार सम्पन्न शोक सभाका प्रमुख अतिथि कार्र्कीले अप्ठ्यारो राजनीतिक परिवेशमा पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै उनले एमालेको साख पुनःस्थापित गरेको उल्लेख गरे । स्व.राईले २०७० सालमा संविधान सभा सदस्यका रूपमा निर्वाचित भई संविधान निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए । पञ्चायती शासनकालमा पटक–पटक जनप्रतिनिधि भएका राई सबैको साझा व्यक्तित्व भएको शोक सभामा बोल्ने वक्ताहरूले उल्लेख गरे । 

शोक सभामा वक्ताहरूले स्व. राईले धरानलाई सांस्कृतिक सहरका रूपमा स्थापित गर्न खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । धरानको विकास यात्रामा उनी एक ‘चम्किलो हीरा’ भएको भन्दै उनको योगदान दीर्घकालसम्म स्मरणीय रहने धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस धरान सभापति श्याम पोखरेल, कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, महेन्द्र क्याम्पसका पूर्व प्रमुख कुमारबहादुर कार्की, संस्थापक सभामुख प्रदीपकुमार भण्डारी, पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, प्रतिनिधि सभा सदस्य उम्मेदवार सुजेन्द्र तामाङलगायतको उपस्थिति रहेको थियो । राईका समकालीन कुमारबहादुर कार्की र गोविन्द सुब्बाले उनको व्यक्तित्व र नेतृत्वबारे चर्चा गरे । नेकपा (एमाले) धरानका अध्यक्ष हर्कजङ एभेङले स्व. राईको जीवनी सुनाए ।