धरान । राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नवोदय प्लस टु युएन कलेजमा शुक्रबारदेखि सुरु भएको ‘युएन नवोदय स्पोर्ट्स मिट’ आज (मङ्गलबार) समापन हुँदैछ ।
स्पोर्ट्स मिटमा भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड खेलहरू सम्पन्न भएको युएन नवोदय कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूले जानकारी दिए । भलिबल खेलमा आकृति राईको समूह विजेता बन्दा सुजता तामाङको समूह उपविजेता बनेको छ । यस्तै छात्रतर्फ रूप्सन राईको समूह विजेता बन्दा सुनीहाङ तेन्युङ लिम्बूको समूह उपविजेता बनेको छ ।
स्नातकको बीएचएमतर्फ अनिस बस्नेतको समूह विजेता बनेको छ । मिसन लिम्बूको समूह उपविजेतामा चित्त बुझाएको छ । बास्केटबलको छात्रातर्फ नुमा लिम्बूको समूह विजेता र सेलिना अधिकारीको समूह उपविजेता बनेको छ । छात्रतर्फ श्याम शेर्पाको समूह विजेता र आयुस लिम्बूको समूह उपविजेता बनेको छ । यस्तै ब्याडमिन्टनतर्फ छात्रामा दिप्सा तुम्बापोको समूह विजेता र नित्या राईको समूह उपविजेता बनेको छ । छात्रतर्फको खेलमा युदीप लिम्बूको समूह विजेता र अमित राईको समूह उपविजेता बनेका छन् । टेबलटेनिसको छात्रातर्फको खेलमा सेलिना अधिकारी विजेता र सोनिया अधिकारी उपविजेता बनेकी छन् । छात्रतर्फ आयुस चौधरी विजेता र अनिस बस्नेत उपविजेता बने ।
सम्पन्न प्रतियोगितातर्फका विजेता र उपविजेता टिमलाई कलेजका प्रिन्सिपल तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल म्यानेजमेन्ट संयोजक गगनमान श्रेष्ठ, फुड प्रोडक्सन प्राक्टिकल हेड सिर्जना लिम्बू, अध्यापकहरू दिव्या झा, जानुका तुम्बापो, अञ्जु चौधरी, अनिमेश बास्तोला, अरुण प्रधान, आनन सुब्बा, सिर्जना गिरीलगायतले ट्रफी, मेडल हस्तान्तरण गरे ।
पुरस्कार वितरण कार्यक्रममा कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले नवोदय युएन कलेजमा अध्यापनसँगै खेल क्षेत्रलाई पनि अगाडि बढाउँदै आएको बताए । उनले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि पनि खेलकुद आवश्यक रहेको बताए । स्कुलका इन्चार्ज नीरकुमार राईले भलिबल खेलमा सर्भिस गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । माघ २ गतेबाट सुरु भएको खेल मङ्गलबार (आज) समापन हुँदै छ ।






























