विराटनगर । कोशी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीको व्यवस्थापकीय कमजोरी र चरम् लापरबाहीका कारण गम्भीर बिरामीको ज्यान जोखिममा परेको छ ।
अस्पतालको १८ बेड क्षमताको आइसियु (इन्टेन्सिप केयर युनिट) वार्डमा अक्सिजन सप्लाइ बन्द भएको बहानामा विगत चार दिनदेखि आइसियु सेवा ठप्प पारिएपछि बिरामीहरू मारमा परेका हुन् ।
अहिले आइसियु वार्डभित्रका बेडहरू छरपष्ट छन् भने जीवन बचाउने महँगा उपकरणहरू बेडका तन्नाले छोपेर थन्क्याइएका छन् । ३० पुसदेखि अक्सिजन पाइपमा समस्या आएको भन्दै अस्पताल प्रशासनले आइसियु वार्डको सेवा बन्द गरेपछि बिरामीहरूलाई जबरजस्ती ‘एचडियु’ (हाइ डिपेन्सेन्सी युनिट) वार्डमा सारिएको छ । तर, एचडियुमा आइसियुको जस्तो सघन उपचार सम्भव नभएपछि गम्भीर प्रकृतिका बिरामीका आफन्त महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएको गुनासो गरेका छन् ।
कोशी अस्पतालमा आइसियुको दैनिक शुल्क मात्र १ हजार २ सय रुपैयाँ छ । तर, सरकारी अस्पतालको यो सेवा बन्द हुँदा बिरामीहरू विराटनगरका निजी मेडिकल कलेज र यहाँका निजी अस्पतालहरूमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म दैनिक शुल्क तिर्न विवश छन् । ३ सय ५० शøयाको यस अस्पतालमा दैनिक १० देखि १५ जना गम्भीर बिरामी आइसियुको पालो पर्खिंदै आकस्मिक कक्षमा छट्पटिने गरेका छन् । यस्तो अवस्थामा भएको आइसियु पनि बन्द हुनुले अस्पताल प्रशासनको संवेदनहीनता प्रष्ट पारेको छ ।
मर्मतमा आलटाल र कर्मचारीको ‘असहयोग’
अक्सिजन पाइप मर्मतको काम तीन दिन बितिसक्दा पनि पूरा हुन सकेको छैन । सामान्य प्राविधिक समस्यालाई हप्तौंसम्म लम्ब्याएर बिरामीलाई निजीमा पठाउने खेल भइरहेको त छैन भन्ने प्रश्नसमेत उठेको छ ।
अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले कार्यभार सम्हाले लगत्तै आइसियु बन्द हुनुलाई अस्पतालभित्रै शङ्कास्पदरूपमा हेरिएको छ । अस्पताल स्रोतका अनुसार नयाँ मेसुलाई असफल बनाउन केही स्वास्थ्यकर्मी र कर्मचारीहरूले असहयोग गरिरहेका छन् । “केही दिन अघिसम्म सुचारु रहेको आइसियु नयाँ मेसु आउने बित्तिकै बिग्रिनु र मर्मतमा ढिलाइ हुनुले कर्मचारीको असहयोग र आन्तरिक राजनीतिको गन्ध आउँछ”–अस्पतालका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए ।
चाँडै सञ्चालनमा आउँछः मेसु डा. चौधरी
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले भने आफूले कार्यभार सम्हाल्ने बित्तिकै अक्सिजन सप्लाइमा समस्या देखिएकाले मर्मत सुरु गरिएको बताएका छन् । उनले भने, “अहिले प्राविधिक टोलीले काम गरिरहेको छ, चाँडै मर्मत सकेर आइसियु सञ्चालनमा ल्याउनेछौँ । अहिले बिरामीलाई एचडियुमा राखेर उपचार गरिरहेका छौँ ।”
दैनिक ८ सयदेखि १ हजार बिरामी आउने कोशी अस्पतालमा यसरी संवेदनशील विभाग बन्द हुँदा पनि व्यवस्थापन पक्षले द्रुत गतिमा काम नगर्नुले सरकारी स्वास्थ्य सेवाप्रतिको भरोसा टुट्दै गएको स्थानीयको गुनासो छ ।
































