विराटनगर । विराटनगर–११ स्थित नेपाल बिजनेस कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई एक समारोहबीच स्वागत गरेको छ ।

आइतबार आयोजित विशेष कार्यक्रममा कलेजका विभिन्न सङ्कायमा भर्ना भएका ३ सय ५० भन्दा बढी विद्यार्थीहरूलाई स्वागत गरिएको हो । कलेजमा अध्ययनरत पुराना विद्यार्थीहरूले एमबीए, बीबीए, बिआइटी र बीएचएम तहका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कलेजका संस्थापक अध्यक्ष भेषप्रसाद धमलाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीपमूलक व्यावहारिक ज्ञान प्रदान गर्न कलेज सधैँ तत्पर रहेको बताए । स्वागत कार्यक्रममा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै विभिन्न नृत्य, गायन र फेसन शो प्रदर्शन गरेका थिए ।

सन् २०१४ देखि सञ्चालनमा आएको यस कलेजबाट हालसम्म ३ सयभन्दा बढी विद्यार्थीहरू ग्य्राजुएट भइसकेका छन् । हाल एमबीए तहमा नवौँ ब्याचका विद्यार्थीहरू अध्ययनरत छन् । कलेजका अनुसार यहाँबाट उत्तीर्ण भएकामध्ये ७० प्रतिशत विद्यार्थीहरूले स्वदेशमै रोजगारी प्राप्त गरेका छन् भने केही विद्यार्थीहरू उच्च शिक्षाका लागि वैदेशिक रोजगारी र अध्ययनमा गएका छन् ।