धरान । कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानको आयोजनामा कवि भानेन्द्र साङ्बाहाङ्फेको कविता सङ्ग्रह ‘निर्झर’ को परिचर्चा कार्यक्रम शनिबार धरानमा सम्पन्न भएको छ ।
कार्यक्रममा कविले आफ्ना सिर्जनामध्ये मेरी मनकी रानी, होसियार र धरान शीर्षकका कविता वाचन गरेर कार्याक्रमको सुरुवात गरे । ३६ वटा लामो र छोटा कविताहरू समावेश गरिएको उक्त सङ्ग्रहमा जीवनजगत्, स्वाभिमान र देशभक्तिका भावलाई सशक्त रूपमा उजागर गरिएको छ । कविताहरूमा समाज, समय र मानवीय संवेदनालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको परिचर्चाकारहरूले बताए ।
कार्यक्रममा प्रा.डा. गोपालप्रसाद भण्डारी र डा. जीवनकुमार राईले कविता सङ्ग्रहबारे समीक्षात्मक धारणा राख्दै ‘निर्झर’ ले समकालीन नेपाली कवितामा अर्थपूर्ण योगदान दिएको उल्लेख गरे । कार्यक्रमको अध्यक्षता कृष्ण पाख्रिन स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश विद्रोहीले गरेका थिए ।
प्रमुख अतिथिका रूपमा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा उपस्थित थिए । उनले साहित्यले समाजलाई चेतनशील बनाउने महŒवपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता साहित्यिक गतिविधिलाई स्थानीय तहले सधैँ प्रोत्साहन गर्नुपर्ने बताए । उनले पनि विगतमा लेखेको कविता सुनाएका थिए ।
परिचर्चा कार्यक्रममा वरिष्ठ साहित्यकार वम देवान, संस्कृति विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडासहित विभिन्न साहित्यप्रेमी, सर्जक र पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
































