विराटनगर । विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजको मुख्य प्रवेशद्वार । यहाँ चौबिसै घण्टा बिरामी र तिनका आफन्तको छटपटी देखिन्छ । कसैलाई रगतको खोजी छ, कसैलाई बेडको चिन्ता । यही मानवीय संवेदनशीलता र बाध्यताको ‘अध्यारो गल्छी’ मा बसेर केही औषधि पसलहरूले ‘लुट धन्दा’ चलाइरहेका तथ्यहरू एकपछि अर्को गर्दै बाहिरिएका छन् ।
बिरामीको असहाय अवस्थाको फाइदा उठाउँदै अवैध रूपमा सञ्चालित त्यस्ता ‘लुट–पसल’ विरुद्ध शुक्रबार प्रशासनले एक्सन लिएको छ । नेपाल औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा नोबेल अगाडिका ७ वटा फार्मेसीहरू शिलबन्दी गरेको छ । कानुनी मापदण्डको धज्जी उडाएका यी पसलहरूले औषधिका नाममा बिरामीको हुर्मत लिइरहेको अनुगमन टोलीको निष्कर्ष छ ।
यो कारबाहीको पृष्ठभूमि केही दिनअघिको एउटा गम्भीर ठगी घटनासँग जोडिन्छ । मोरङको बेलबारी–११ की ७५ वर्षीया तीर्थकुमारी राईलाई ब्रेन ह्यामरेज भएपछि उपचारका लागि नोबेल ल्याइएको थियो । अस्पताल बाहिरको ‘मित्र फार्मेसी’ ले बिरामीको गम्भीर अवस्थाको फाइदा उठाउँदै औषधिको परिमाण र मूल्य दुवैमा व्यापक ठगी ग¥यो । विवेक शर्मासहितको संलग्नतामा सञ्चालित उक्त फार्मेसीले गरेको ठगीको फेहरिस्त सञ्चारमाध्यममा सार्वजनिक भएपछि मात्रै प्रशासनको ध्यान त्यसतर्फ मोडिएको हो ।
ब्लाष्ट दैनिकमा समाचार सार्वजनिक भएलगत्तै शुक्रबार दिउँसो प्रशासन र विभागको टोलीले नोबेल गेटअगाडि छापा मा¥यो । औषधि व्यवस्था विभागका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार कुल १४ वटा फार्मेसीको अनुगमन गर्दा ७ वटामा गम्भीर त्रुटि र अवैध धन्दा भेटिएपछि तत्कालै शिलबन्दी गरिएको हो ।
यी हुन् बदमासी गर्ने सात फार्मेसी
अनुगमन टोलीले शिलबन्दी गरेका फार्मेसीहरूको सूची र तिनले गरिरहेको बदमासी सुन्दा सामान्य उपभोक्ता झस्कने अवस्था छ ।
अनुसन्धान गर्दैजाँदा सीताराम फार्मेसी नेपालमा दर्ता नै नभेटिएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । त्यसै गरी छिन्नमस्ता फार्मेसीले पनि डिडिएमा दर्ता नभएका अवैध औषधिहरू बिक्री गरिरहेको फेला परेको थियो ।
यस्तै धनगढी माई मेडिकलले लामो समयदेखि दर्ता नवीकरण नगरेको भेटिएको छ । सुसंस्कृति फार्मेसीमा औषधि पसलमा अनिवार्य रूपमा रहनुपर्ने ‘फार्मासिस्ट’ वा औषधि विज्ञ नभेटिएको डिडिएले जनाएको छ । विना विशेषज्ञ पसल सञ्चालन गरेर जोखिम निम्त्याइरहेको पाइएपछि यसमा पनि ताला लगाइएको विभागले जनाएको छ ।
त्यसै गरी आविष्कार फार्मेसीले मानवीय स्वास्थ्यका लागि विष बराबर मानिने ‘म्याद सकिएका’ औषधिहरू भण्डारण गरेको भेटिएको छ । गोल्ड फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नै नगरी ‘भूमिगत’ शैलीमा औषधि व्यापार गरिरहेको पाइएपछि शिलबन्दी गरिएको विभागले जनाएको छ । “हामीले सूचना र समाचारका आधारमा सघन अनुगमन थालेका हौँ” सूचना अधिकारी खड्काले भने, “अनुगमनका क्रममा अधिकांशले मापदण्ड पालना नगरेको र बिरामी ठग्ने गरेको पुष्टि भएपछि हामीले शिलबन्दी गरेर थप अनुसन्धान सुरु गरेका छौँ ।”
नोबेल मेडिकल कलेज अगाडिको यो क्षेत्र औषधि पसलहरूको ‘हब’ जस्तो देखिन्छ । तर, यो हबभित्रको अवैध सञ्जाल डरलाग्दो रहेको औषधि व्यवस्था विभागको भनाइ छ । स्थानीय व्यवसायीहरूका अनुसार त्यस क्षेत्रमा करिब १०५ वटा औषधि पसल सञ्चालनमा छन् । तर, औषधि व्यवस्था विभागको आधिकारिक तथ्याङ्क पल्टाउने हो भने मात्र ६५ वटा पसल दर्ता भएका देखिन्छन् । बाँकी ४० वटा पसल कि त विना दर्ता चलिरहेका छन् कि त खारेज भइसकेका अनुमति पत्रका आधारमा बिरामीको खल्ती लुटिरहेका छन् । राज्यको आँखा अगाडि नै कसरी यति ठुलो सङ्ख्यामा अवैध पसलहरूले साम्राज्य खडा गरे ? यो प्रश्न अहिले गम्भीर बनेको छ ।
नेपाल औषधि व्यवसायी सङ्घ, मोरङका अध्यक्ष देशबन्धु ढकाल दर्ता विनाका पसलले मर्यादित व्यवसायीको समेत बदनाम गरिरहेको स्वीकार्छन् । “बिरामी ठगी गर्ने र अवैध धन्दा चलाउनेहरू व्यवसायी हुन सक्दैनन्, तिनीहरू त लुटेरा हुन्” उनले भने, “हामीले पटक–पटक गैरकानुनी ढङ्गले सञ्चालन गर्नेलाई कारबाही गर्न माग गर्दै आएका छौँ ।” उनले उपभोक्तालाई पनि सचेत रहन र औषधि खरिद गर्दा अनिवार्य रूपमा आधिकारिक बिल माग्न आग्रह गरे ।
कहिलेसम्म चल्नेछ ‘एक्सन’ ?
प्रशासनले शुक्रबार ७ वटा पसलमा ताला त लगायो, तर यो कारबाही एक दिने ‘स्टन्ट’ मात्रै बन्नु हुँदैन । विराटनगरका ठुला अस्पतालअगाडि बिरामी ठग्ने दलाल र अवैध फार्मेसीहरूको सञ्जाल निकै गहिरो गरी गढिएको स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् । विराटनगरको विराट नर्सिङ होम र न्यूरो अस्पताल अगाडि पनि फार्मेसीहरूले बिरामीका आफन्तलाई झुक्याएर अनावश्यक औषधि भिडाउने, मूल्य सूचीभन्दा बढी लिने र औषधि नै नदिई बिल मात्रै थमाउने जस्ता हर्कत गर्दै आएका छन् ।
































