धरान । कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुँदै गएको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनमा आउने भएको छ ।

स्थानीय व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटल ब्रान्ड विन्डम होटल्स एण्ड रिसोर्ट्स अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड रमडा बाइ विन्डमलाई पहिलोपटक कोशी प्रदेशमा भिœयाएका हुन् ।  अबको करिब एक महिनाभित्र सञ्चालनमा आउन लागेको यस होटलमा जम्मा ८१ वटा कोठा रहनेछन् ।

टेरेस बार, अल–डे डाइनिङ रेष्टुरेन्ट, कफी शप, दुईवटा ब्याङ्क्वेट हल, मिटिङ रुम, आउटडोर लाउन्ज, पुल बार, स्वीमिङ पुल, जिम, स्टीम तथा साउनालगायतका सुविधा उपलब्ध हुने सञ्चालक बस्नेतले जानकारी दिए ।

होटल सञ्चालनसँगै ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान हुने पनि बताइएको छ । बस्नेतका अनुसार ‘रमडा बाइ विन्डम इटहरी’ ले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

उनले भने, “रमडा पूर्वी नेपालमा आएपछि आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढ्नेछ । जोगबनी र किमाथाङ्का नाकालाई ट्रान्जिटको रूपमा विकास गर्न इटहरीमा यो होटल परियोजना अघि बढाएका हौँ ।”