भद्रपुर । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे दुर्घटना भएको बुद्ध एयरको विमान सुरक्षित ठाउँमा राख्ने काम सुरु भएको छ ।
शनिबार २ वटा क्रेन (१३ टन क्षमता)ले मात्र सार्न नसकेपछि विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाइएको विमानस्थलका प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए । विमान सार्न ३ वटा क्रेन आवश्यक परेको उनले जनाए । जहाज अप्ठ्यारो ठाउँमा भएकोले शनिबार दिनभर खोल्सा पुर्ने र सार्ने ठाउँ बनाउने काम भएपछि सुरक्षित ठाउँमा राखिने उनले जनाए ।
बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा पठाएको प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर आएको उनले बताए । टोली आउने–जाने काम भइरहे पनि १५ देखि २० जना निरन्तर काममा लागिरहेको उनले बताए । दुर्घटनापछि शनिबार बिहानबाट विमानस्थलमा नियमित उडान र अवतरणको काम सुरु भइसकेको उनले जानकारी दिए । राति आएर बास बस्ने जहाज मात्रै नआएको उनको भनाइ छ । दुर्घटना भएको जहाजबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको, चालक दलसँग अन्तरवार्तालगायतको काम सकेर मात्र कारण पत्ता लाग्ने उनले जानकारी दिए ।
प्राविधिक टोली लिएर आएको विमान नै भद्रपुर विमानस्थलमा पहिलो पटक अवतरण गरेको विमानस्थलले जनाएको छ । काठमाडौँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३ सय मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा चिप्लिएर खोल्सामा पुगेको थियो ।
आपत्तकालीन ढोका खोलिदिएर ५१ जना यात्रुको ज्यान बचाए
जहाज अवतरणका क्रममा रन–वेमा चिप्लिएर दुर्घटना भएपछि जहाजका यात्रु उमेश मोक्तान तामाङले आपतकालीन ढोका खोलिदिएर ५१ जना यात्रुको ज्यान बचाए । १४ नम्बर सिटमा बसेका तामाङले जहाज ल्यान्ड हुने बेलामा गड्याङ गुडुङ गरेर धुवाँको मुस्लोजस्तो देखिन थालेपछि आपतकालीन ढोका खोलेको बताए ।
“एयर होस्टेस पनि आत्तिराख्नुभएको थियो, मैले गएर इमर्जेन्सी ढोकालाई एक लात्ती दिएँ” उमेशले भने, “सबै आत्तिएर रुने–कराउने भएपछि मैले केही न केही विकल्प अपनाउनुपर्छ भनेर एयर होस्टेसको आँखा छलेर ढोकामा लात्ती हानेको हँु ।”
अन्य यात्रुलाई सम्झँदै उनी भन्छन्, “सबै रुने–कराउने गर्दै हुनुहुन्थ्यो, कसैले त टाउको झ्यालमा ठोकिरहनुभएको थियो । त्यो एकै मिनेटमा के भयो भयो, सबै कालो भएजस्तो भो, जहाज नै गन्हायो । बाँचिन्छ जस्तो लागेको थिएन, त्यसैले ढोकामा लात्ती हानेको हुँ ।” “मैले इमर्जेन्सी ढोका खुलेर बाँच्न सकिन्छ भन्ने ज्ञान पाएरै त्यसो गरेको हुँ । ल्यान्ड गर्दा जहाज एक ठाउँमा ठोक्कियो, ठोक्किएपछि एयर होस्टेसले नआत्तिनु नआत्तिनु भन्नुभयो”–उनले भने ।
त्यसैगरी झापाको अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन पनि तामाङ भाइले इमर्जेन्सी ढोका लात्तीले हानेर सबैजनालाई बचाएको बताए । “पाँचथरको तामाङ भाइ त्यहाँ थिए भन्ने हामीले थाहा नै पाएका थिएनौँ । एयर होस्टेसहरू पनि आत्तिसक्नुभएको थियो” गोम्देनले भने, “धुवाँको मुस्लो भित्र पसिसकेको थियो, निसास्सिएर सबैजना त्यहीँ मर्ने थियौँ । भगवान्जस्तो भएर भाइले हामी सबैलाई बचाए ।”
गोम्देनका अनुसार पछाडिपट्टिको ढोका एकजनाले फुटाएर केही यात्रु त्यहाँबाट पनि निस्केका थिए । गोम्देन आकाशमा हुँदा पनि प्लेनले अरूबेलाभन्दा धेरै हल्लाएको महसुस गरेको दाबी गरे । जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका थिए ।
घटनामा घाइते भई उपचार गराइरहेकका सविन जोगीले जहाज अवतरण हुँदै गर्दा धावन मार्गको मापन क्रस भइसकेकोले दूरी कम भएका कारण घटना भएको हुनसक्ने बताए । जहाज खोल्सामा पसेपछि भाग्ने क्रममा हाम्फाल्दा शरीरमा असर परेको उनले बताए । भद्रपुर–१० का ४० वर्षीय जोगीको अस्पतालमा उपचार भइरहेको छ भने अन्य छ जना घाइते सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको जनाइएको छ ।
दुर्घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै रन–वेको लम्बाइ १ सय मिटर घटाएर शनिबार बिहानदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको विमानस्थलले जनाएको छ ।
साउन २२ त्यो ओभर सुट
उडानका क्रममा समेत चराले गर्दा जहाज ओभरसुट गर्नुपरेको भद्रपुर विमानस्थलले जनाएको छ ।
२०८२ साउन २२ गते बिहान काठमाडौं–भद्रपुर उडानमा रहेको जहाज ओभरसुट गर्नुपरेको थियो । विभिन्न अनलाइन न्यूज पोर्टल तथा सामाजिक सञ्जालमा विमानस्थलभित्र चितुवा, स्याल देखिएका भिडियोहरू सार्वजनिक भएपछि बुद्ध एयरले विज्ञप्ति नै जारी गरेको थियो । “विमानस्थलभित्र रहेका ठूल्ठूला झाडी एवम् घाँस समयमा नउखेल्दा, नसम्याउँदा यस्ता समस्या बढ्नु स्वभाविक हो । वर्षाको बेला रन–वे वरिपरि किरा निस्कँदा चराहरू झुम्मिन्छन् । यी स–साना समस्याहरूलाई समयमै ध्यान नदिँदा उडान जोखिममय बन्दै गएको छ” –विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
चरा ठोक्किएपछि जहाजलाई मिहिन ढङ्गले परीक्षण गर्नुपर्ने र मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्दा उडान सेड्युल नै प्रभावित भएको बुद्ध एयरले जनाएको छ । चराका कारण समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको बुद्ध एयरले जनाएको छ । नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरूको आर्थिक व्ययभार बढाएको विज्ञप्तिमा उल्लेख छ । विमानस्थल बाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको जनाएको छ ।
भद्रपुर विमानस्थलको इतिहास
घाँसे मैदानबाट सुरु भएको विमानस्थल हाल रात्रीकालीन सेवा सञ्चालनमा छ । वि.सं.२०२६ सालमा निर्माण भएको विमानस्थल प्रविधि र भौतिकरूपमा रूपान्तरण हुँदै योजनाबद्ध ढङ्गबाट काम अघि बढाइएपछि विमानस्थलको अवस्था सुध्रिँदै गएको हो ।
हाल पाँच विमान कम्पनीका जहाजले सेवा दिइरहेको प्राधिकरणले जनाएको छ । एयर फिल्ड लाइट जडानपछि रात्रीकालीन सेवासँगै २२ सयबाट घटेर १६ सयको भिजिविलिटीमा विमान अवतरण भइरहेको जनाइएको छ ।
वि.सं. २०२६ सालदेखि पिलाटस पोर्टर, डोनियर टुइन अटर लगायतका साना जहाज अवतरण हुँदै आए पनि बीचमा बन्द भएर वि.सं.२०५१ सालबाट निरन्तर सञ्चालनमा आइरहेको छ । पछिल्लो समय ठूला जहाजले समेत उडान भर्दै आइरहेका छन् ।































