धरान । के तपाईंलाई थाहा छ, साइलेन्सर मोडिफाइ गरी चलाइएको सवारी साधन साथै प्रेसर हर्न बजाउने सवारीबाट कति डेसिबल ध्वनि आउँछ ? धेरैलाई यसको सही उत्तर थाहा नहुन सक्छ तर मोडिफाइ गरिएको मोटरसाइकलबाट एक सय ३० डेसिबल आवाज (ध्वनि) आउने गरेको तथ्याङ्कहरू देखाएको छ । डेसिबल ध्वनि मापन गर्ने एकाइ हो । यस्तै प्रेसर तथा डिजिटल हर्न बजाउने सवारी साधनले एक सय २० डेसिबल आवाज निकाल्ने गरेको अनुसन्धानहरूले देखाएको छ ।

आममानिसका लागि ६५ डेसिबल स्तरसम्मको आवाजलाई स्वीकार्य हुने बताइन्छ तर संयुक्त राष्ट्रसङ्घ (युएन) ले ४० डेसिबलको आवाजबाट हुने वातावरणीय असरलाई शान्त मानेको छ । यसलाई थप पुष्टि गर्दै मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजका नाक, कान, घाँटी (इएन्टी) का डाक्टर शङ्कर साह भन्छन्, “४० डेसिबलसम्मलाई नर्मल मानिन्छ । त्योभन्दा माथि हुँदा सुनाइसम्बन्धी समस्या सुरु हुन्छ ।” मानिसका श्रवण क्षमता सामान्यतः ० देखि २५ डेसिबल (डिबी) को बीचमा हुने जनाइन्छ । 

विकसित देशहरूमा ध्वनि प्रदूषणलाई वातावरणीय प्रदूषणको रूपमा परिभाषित गरेको छ । ती देशहरूमा ध्वनि प्रदूषण गरे सख्त कारबाही गर्ने नियम छ । नेपाल सरकारले २०७४ साल वैशाख १ गतेदेखि ‘नो हर्न’ नीति ल्याएको थियो । तर, कार्यान्वयन तहमा अझै समस्या रहेको छ । विकासशील तथा विकाशोन्मुख देशहरूमा यस्ता विषयमा ध्यान नदिने कारण सुनाइसम्बन्धी समस्या बढ्दै गएको डाक्टर साहको भनाइ छ । “४० डेसिबलभन्दा माथि लामो समयसम्म सुनाइ भएमा बहिरोपन हुने समस्या हुन सक्छ”–उनले टेलिफोन सम्पर्कमा भने ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले ७० डेसिबलभन्दा माथिको आवाजले विभिन्न खालका रोगहरू निम्त्याउने उल्लेख गरेको छ । सङ्गठनले ७० डेसिबलसम्मको आवाजको स्तरलाई सुन्नसकिने मानिएको छ । काठमाडौँको व्यस्त ट्राफिक क्षेत्रहरू तथा इन्जिनियरिङ वर्कसपहरूमा १ सय डेसिबलको हाराहारीमा आवाज आउने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । अमेरिकाको वातावरण विज्ञानले प्रकाशित गर्ने जर्नल अफ इन्भाइरोन्मेन्ट साइन्स २०२५ को ‘भोल्यूम ११’ मा काठमाडौँका पेप्सीकोला क्षेत्रलाई आधार मानेर गरिएको अनुसन्धानमा ध्वनिको स्तर ६० देखि ७० डेसिबल रहेको उल्लेख गरिएको छ तर प्रेसर र डिजिटल हर्न प्रयोग गर्ने अधिकांश ठूला सवारी साधनले त्यो सीमा नाघेर एक सय २० डेसिबलभन्दा बढी आवाज निकाल्ने जनाइएको छ । 

मोडिफाइवाला निरन्तर कारबाहीमा 

साइलेन्सर मोडिफाइ गरिएका मोटरसाइकलहरूको ध्वनिले बालबालिका, ज्येष्ठ नागरिक तथा रोगीहरूमा सबैभन्दा बढी असर गर्ने भएकाले यस्ता मोटरसाइकलहरूलाई कारबाही गरिँदै आएको ट्राफिक प्रहरी बताउँछ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा कोशी प्रदेशभरि दुई सय ७३ वटा मोटरसाइकललाई कारबाही तथा जरिबाना गरी छाडिएको थियो । 

चालु आर्थिक वर्षको साउनयता मात्रै एक सय ८१ वटा मोटरसाइकललाई कारबाही गरिएको एसपी गिरीले जानकारी दिए । उनले भने, “साउन्ड पोलुसन गर्ने सवारी साधनलाई उच्च प्राथमिकता दिएर नियन्त्रणमा लिँदै आएका छौँ । समाजलाई आतङ्कित बनाउने अझ रातको समयमा पोलुसन गर्नेलाई कारबाही गर्दै आएका छौँ ।” ७० डेसिबलभन्दा माथि आवाज आएमा ‘असहजता’ सुरु हुने चिकित्सकहरूको भनाइ छ । “७० भन्दामाथि डिसकम्फर्ट नै हुन्छ । १ सयभन्दा माथि कानको जाली फुटेर रगत नै आउन सक्नेसम्म हुन्छ” डा. साहले भने, “तुरुन्तै असर देखिने र क्रोनिक हुने समस्या देखा पर्छ ।”

सामान्यतः व्यस्त ट्राफिक क्षेत्रमा ९० देखि १ सय डेसिबलसम्म आवाज आउने गरेको छ । जसलाई ध्वनि प्रदूषणका रूपमा लिइन्छ । ट्राफिक प्रहरीहरूको सबैभन्दा बढी कानको सुनाइको समस्या धेरै हुने गरेको डा. साह बताउँछन् । उनका अनुसार ध्वनि प्रदूषणको असर कान कराउनेबाट सुरु हुँदै बहिरोसम्ममा पुग्ने गरेको विभिन्न अध्ययनहरूले देखाउने गरेको छ । “हामीले नै गरेको रिसर्चमा यस्तो समस्या देखिएको छ”–उनले भने ।