धरान । जेन जी समूहले शनिबार धरानको भानुचोकमा आयोजित मेची–महाकाली एकता अभियान अन्तर्गत विशाल कोणसभा आयोजना गरेको छ ।
धरानमा आयोजित कोणसभामा युवाले थालेको परिवर्तनको लहरलाई राजनीतिक संस्थागत स्वरूप दिनुपर्ने र पुरानै शैलीको शासन तथा राजनीतिक चरित्रले देशलाई अघि बढाउन नसक्ने धारणा राखेका थिए ।
कार्यक्रममा जेन जी नेतृ अस्मिता राईले जेन जी आन्दोलनले देशमा जन्माएको राजनीतिक चेतना र युवाको नयाँ नेतृत्व परिवर्तनको आधार बन्न थालेको बताइन् । देशको आमूल परिवर्तनका लागि आफूहरूको पुस्ताले आन्दोलन गरेको उनले बताइन् । सहिदको सपना पूरा गर्न जेन जी समूहलाई जुटेर काम गर्न उनले आह्वानसमेत गरिन् ।
भदौ २३–२४ को आन्दोलनमा एउटा खुट्टा गुमाए पनि राजनीतिक नेतृत्वका रूपमा अघि बढेका इलाम सूर्याेदय नगरपालिका–१० का २८ वर्षीय राजेश पोर्तेलको समेत अभियानमा सहभागिता रहेको थियो ।
कार्यक्रममा पोर्तेलले देशैभर ‘मेची–महाकाली अभियान’ सञ्चालन गर्दै युवालाई एकताबद्ध पारेर नयाँ पुस्ताले खोजेको राजनीतिक विकल्पको निर्माणमा लाग्ने प्रतिबद्धता जनाए । कोणसभामा आन्दोलनका घाइतेहरूको बाक्लो उपस्थिति रहेको थियो ।
































