काठमाडौँ । पत्रकार पर्वतराज घिमिरेलाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भत्र्सना गरेको छ ।
काठमाडौँका नगर प्रमुख बालेन्द्र साहको समाचार प्रसारण गरेपछि नगर प्रमुखका भिनाजु बताउने सुवास साहले पत्रकार घिमिरेलाई फोनमार्फत् धम्की दिएको बताइएको छ । धम्कीको घटनाप्रति महासङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको हो । शाखाले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आक्रमणको घटना भएको उल्लेख गरेको छ ।
शाखा सचिव रमेशकुमार बोहोराले विज्ञप्तिमा लेखेका छन्, “यो कुनै व्यक्तिगत रिसइवी होइन, स्वतन्त्र पत्रकारिता र अभिव्यक्तिको अधिकारमाथिको नियोजित हमला हो, जसले लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको आधारभूत मर्मलाई चुनौती दिएको छ ।” समाचारप्रति असन्तुष्टि भएमा प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।