धरान । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माण थालिएको पुल सात वर्ष बितिसक्दा पनि अझै अधुरै छ । चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने पुल समयमै नबन्दा स्थानीयवासीले ठूलो सास्ती भोग्नुपरेको छ ।
यो पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच १ करोड २१ लाख ८६ हजार ८ सय १३ रुपैयाँ लागतमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साउन ७ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो ।
तर हालसम्म पुलको करिब ५० प्रतिशत मात्रै निर्माण सकिएको धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले जानकारी दिए । उनका अनुसार पुलका दुवै किनारामा पिलर त उठाइएका छन्, तर अब बाँकी संरचना झाडीले ढाकिएको छ र काम पूर्णरूपमा ठप्प अवस्थामा छ ।
पुल नबन्दा धरान–५ र ४ नम्बर वडाका साथै धरान बजारसँगको दैनिक सम्पर्कमा गम्भीर अवरोध आएको छ । विशेषगरी बर्खाको समयमा खोलामा आएको बाढीका कारण स्थानीयवासी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । वडाध्यक्ष लिम्बूका अनुसार बिरामी परे अस्पताल लैजान गाह्रो हुन्छ र बनाइएका अस्थायी बाँसका पुलहरू पनि बाढीले बगाइदिन्छ ।
स्थानीय नरबहादुर मगरका अनुसार विद्यालय जानुपर्ने बालबालिकाहरू झन् बढी समस्यामा परेका छन् । “बर्खामा खोलाको पानी बढेपछि बालबालिकाले घण्टौं खोलाको छेउमा बस्नुपर्ने अवस्था आउँछ”–उनले भने । साथै गाउँमा उत्पादन भएको कृषिउपज बजार लैजान पनि कठिन भएको उनको भनाइ छ ।
धरान–५ मा कक्षा ५ सम्म मात्र पढाइ हुने विद्यालय रहेकाले त्यसपछि पढ्न चाहने विद्यार्थीहरूलाई खोलापारिको धरान बजार जानुपर्ने बाध्यता छ । मनटार, सुमनटार, मुक्तिलाल, निशान डाँडा र तल्लो निशान डाँडाबाट दैनिक जोखिम मोलेर विद्यार्थीहरू विद्यालय आउजाउ गर्न बाध्य छन् ।
पटक–पटक म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम नगरेको स्थानीयको गुनासो छ । गत चैत १२ गते ठेकेदार कम्पनीलाई बोलाई जेठ मसान्तभित्र काम सक्ने सहमति गराइएको थियो, तर त्यसपछि कम्पनी सम्पर्कमै नरहेको वडाध्यक्ष लिम्बूले बताए ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले गत चैतमा स्थलगत निरीक्षण गरेका थिए । मन्त्री राईले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गर्दै धरौटी रकम जफत गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएका थिए । तर, ठेकेदार कम्पनीले अदालतबाट स्टे–अर्डर लिएका कारण काम अघि बढ्न सकेको छैन ।
स्थानीयवासी र सरोकारवालाहरूले पुल निर्माण कार्य तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । (रासस)