काठमाडौं । राजधानीको सुन्धारा क्षेत्रमा सोमबार युवाहरूबीच झडप भएको छ। जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठनको विषयलाई लिएर विभिन्न समूहबीच विवाद चर्किएपछि स्थिति तनावग्रस्त बनेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै मुलुक सरकारविहीन अवस्थामा पुगेको छ। यसबीच नेपाली सेनाले नेतृत्व लिन थालेको र युवासँग छलफल गरिरहेको अवस्थामा, फरक–फरक समूहले जेनजी आन्दोलनको नेतृत्व आफ्नो भएको दाबी गर्दै आक्रामक रुप लिएका छन्।
अन्तरिम सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा सहमति नजुटेपछि एक समूहले अर्कोको प्रस्ताव अस्वीकार गर्दै हानाहानसम्मको अवस्था सिर्जना भएको प्रहरी स्रोतले जनाएको छ।