धरान । अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् ।

त्यसैगरी हिरासतमा रहेका ५ सय ६० जना थुनुवा पनि फरार भएका छन् ।  विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५ सय ६० थुनुवा फरार भएका हुन् ।  जेन जीले गरेको प्रदर्शनका क्रममा मङ्गलबार तोडफोज र आगजनी गर्दै कैदीबन्दी फरार भएका हुन् ।

झुम्का कारागारबाट १५ सय ७२ कैदी फरार 

सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट मङ्गलबार राति १०ः३० बजे १ हजार ५ सय ७२ जना कैदीहरू फरार भएका छन् ।

आन्दोलनकारीहरू पुगेर हो–हल्ला गरेपछि कारागारको ताला तोडेर जेलमा रहेका १ हजार ७ सय ९९ कैदीहरू भागेका थिए । कारागार प्रशासन प्रमुख सुवास लामिछानेका अनुसार कारागारबाट भागेकामध्ये ३७ जना भने फर्केर आएका थिए । १ सय ८९ जनालाई राति नै नेपाली सेनाले पक्रिएर ल्याएको थियो । 

लामिछानेका अनुसार नेपाली सेनालाई समयमा खबर गरिए पनि आउन ढिलाइ भएपछि उनीहरू जेल तोडेर भागेका थिए । जेलभित्र भएका सामानहरू पनि उनीहरूले लिएर गएका थिए । अन्य फरार भएका कैदीहरूलाई हाल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी जारी राखेको छ । 

पथरी र उर्लाबारीबाट ३३ थुनुवा फरार

विराटनगर संवाददाता अनिल श्रेष्ठका अनुसार विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङ ‘ब्रेक’ गरेर कैदीबन्दी भगाउने योजना प्रहरीको सक्रियताले असफल भएको छ । तर, सोही क्रममा मोरङकै इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीबाट भने ‘जेन जी’ नामको एक अराजक समूहले कुल ३३ थुनुवा भगाउन सफल भएको छ । जसले जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

जिल्ला कारागार मोरङमा झण्डै २ देखि ३ सयको सङ्ख्यामा पुगेको एक समूहले कारागारको मुख्य गेटमा नाराबाजी गर्दै कैदीबन्दीलाई रिहा गर्नुपर्ने माग राखेर प्रदर्शन गरेको थियो । कैदीबन्दीलाई भगाउने योजनासहित पुगेको उक्त भीडले स्थितिलाई तनावग्रस्त बनाएपछि प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो । प्रहरीको हवाई फायरपछि भीड तितरबितर भएको र कारागार ‘ब्रेक’ गर्ने योजना असफल भएको सुरक्षा स्रोतले जनाएको छ ।

घटनापछि जिल्ला कारागार मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ । कारागारको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट डिएसपीको नेतृत्वमा टोली परिचालन गरिएको छ । त्यस्तै सशस्त्र प्रहरी बलसमेत कारागारको सुरक्षामा खटिएको छ भने नेपाली सेनाले समेत कारागार क्षेत्रलाई आफ्नो निगरानीमा राखेको छ । यसबाट विराटनगरस्थित मुख्य कारागारमा कुनै अप्रिय घटना हुन पाएन र कैदीबन्दी भाग्न पाएनन् ।

यद्यपि सोही समयमा ‘जेन जी’ नामको एक अराजक समूहले मोरङकै अन्य दुई स्थानमा रहेका प्रहरी कार्यालयहरूलाई निशाना बनाएको छ । उक्त समूहले मोरङको इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीमा रहेका सबै थुनुवालाई भगाउन सफल भएको छ । उर्लाबारीबाट १९ जना र पथरीबाट १४ जना गरी कुल ३३ जना थुनुवा फरार भएका छन् । यस घटनाले मोरङ प्रहरीलाई ठूलो चुनौती थपेको छ ।

फरार भएका थुनुवाहरूको खोजीका लागि प्रहरीले तीव्र पारिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, अराजक समूहले इलाका प्रहरी कार्यालय पथरीको मुद्दा शाखाका महत्वपूर्ण कागजातहरू समेत जलाएर नष्ट गरिदिएको छ । यसले अनुसन्धान प्रक्रियामा बाधा पुग्ने सम्भावना बढेको छ ।

टोपबहादुरसहितका कैदीबन्दीहरु सुन्धारा जेलबाट फरार

केन्द्रीय कारागार सुन्धाराबाट पनि कैदीबन्दीहरू भागेका छन् । भाग्नेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी पनि रहेको प्रहरीले जनाएको छ । 

कैदीबन्दीहरूले मङ्गलबार रातिदेखि हो–हल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरू कारागार छोडेर हिँडेका थिए । त्यसपछि कैदीहरू पनि भागेका थिए । अधिकांश कैदी भागेपछि सेना आएको थियो । अहिले सेनाले कारागारलाई नियन्त्रणमा लिएको छ । भागेका केही कैदीबन्दीहरूलाई फर्काइएको सैनिक स्रोतले जनाएको छ । टोपबहादुर भने फरार भएको बताइएको छ ।