धरान । कोशी प्रदेशमा रहेका भाटभटेनी सुपरमार्केटका ४ वटा सुपर मार्केटमा आगजनी र लुटपाट भएको छ । एउटा शाखा स्थानीयको सक्रियताका कारण आगजनी हुनबाट जोगिएको छ ।
भाटभटेनीको विराटनगर, इटहरी, धरान, दमक र बिर्तामोडमा स्टोर छन् । इटहरीबाहेक सबै स्टोरमा नियोजितरूपमा आगजनी भएको हो । इटहरीमा रहेको भाटभटेनीमा अगजनी गर्न पुगेको समूहलाई भने स्थानीयले रोकेका छन् । आगजनी गर्न रोके पनि तोडफोड भने भएको थियो ।
धरान–१० स्थित भाटभटेनी सुपरमार्केटमा मङ्गलबार लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । बुधबार पनि आगो र धुवाँको मुस्लो निस्किरहेको छ । धरान उपमहानगरका ३ वटा दमकल एकपछि अर्काे गरी लागेपनि नियन्त्रणमा आउन सकेको छैन । जेन जीको समूहले साँझ धरान–१ स्थित एमाले नगर पार्टी कार्यालय, माओवादी केन्द्र पार्टी नगर कार्यालय, पूर्व उपमेयर मञ्जु भण्डारीको घर, नगर कार्यपालिका सदस्य सृजना नेपालको घर, पूर्व मेयर मनोज मेन्याङ्वोको घर एवम् कञ्चनजङ्घा होटल तथा भाटभाटेनीमा आगलागी र तोडफोड गरेका थिए ।
त्यही समूहले धरान–१८ स्थित पूर्व मेयर तिलक राई र १७ नं. वडास्थित वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज)को निजी घरमा पनि आक्रमण गर्न खोजे पनि प्रतिकार गरी जोगाएका थिए ।
धरानमा सीमित व्यक्तिहरू छानेर आगजनी गरिएकाले र जेन जीका केही व्यक्तिहरूले तोडफोड र आगजनी आफूहरूले नगरेको भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।
धरान उपमहानगरका प्रमुख हर्क साम्पाङका कट्टर विरोधी र उनका प्रतिस्पर्धीहरूको घरमा आजगनी गरिएको स्थानीयलेआरोप लगाएका छन् । पूर्व नगर उपमप्रमुख रहेकी मञ्जु भण्डारीको घरका सबै सामान ध्वस्त बनाइदिएका छन् ।
विराटनगरस्थित भाटभटेनी सुपर मार्केटमा मङ्गलबार बेलुका अराजक समूहले लुटपाटसँगै आगजनी गरेको थियो । आगजनीका कारण भाटभटेनीको विराटनगर स्टोर पूर्णरूपमा जलेको छ । आगो अझै निभेको छैन । बिर्तामोड र दमकमा पनि लुटपाटपछि आगजनी भएको हो ।
मङ्गलबार बेलुकासम्म भाटभटेनी आन्दोलनकारीको निशानामा थिएन । विराटनगरमा आगजनीपछि दमक, बिर्तामोड र धरानमा आगजनी भएको थियो ।
आगजनीको कारण भाटभटेनीमा पुगेको क्षतिको विवरण सङ्कलन भइसकेको छैन । मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनीमा योजनाबद्धरूपमा आगजनी र लुटपाट भएको सुरक्षास्रोत बताउँछ । “मङ्गलबार बेलुकासम्म धरान शान्त थियो, एक्कासि भाटभटेनीमा आगजनी भयो, सुरक्षास्रोत भन्छ” –योजनाबद्धरूपमा आक्रमण र लुटपाट भएको देखिन्छ ।