धरान । जेन जी समूहले धरानमा दिउँसो शान्तिपूर्ण प्रदर्शन गरे । प्रदर्शनमा धरानका नगर प्रमुख हर्क साम्पाङले समेत सम्बोधन गरे । धरानको भानुचोकमा भएको कार्यक्रममा नगर प्रमुखले जेन जीले गरेको आन्दोलनलाई समर्थन गर्दै युवापुस्तालाई हौस्याएका थिए । उक्त कार्यक्रम सकिएपछि धरानका राजनीतिक दलका कार्यालय आगजनी गरिएको थियो ।
मङ्गलबार दिउँसो धरान–१ स्थित नेकपा (एमाले) को कार्यालयमा आगजनी गरेका छन् । कार्यालयका फर्निचरलगायतका सामान बाहिर निकालेर बाहिरै जलाएका हुन् । कार्यालय भवनको दुवै तलाका सिसाका झ्यालहरू पनि सबै तोडफोड गरेका छन् ।
जेन जी प्रदर्शनकारीहरू एमाले पार्टी कार्यालय पुग्दा कार्यालय भवनमा कोही पनि थिएनन् । प्रदर्शनकारी मूलगेट तोडफोड गरी कार्यालयमा प्रवेश गरेका थिए ।
आगजनी गरेर प्रदर्शनकारीहरू हिँडेपछि धरान उपमहानगरपालिकाको २ वटा दमकल आएर आगो निभाएको थियो । यसैगरी प्रदर्शनकारीले धरान–२ स्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालय र धरान–१४ स्थित नेकपा (माओवादी केन्द्र) को कार्यालयमा पनि तोडफोड गरेका छन् । उनीहरूले पार्टी कार्यालयबाट फर्निचरहरू बाहिर ल्याएर तोडफोड गरेका थिए ।
माओवादी पार्टी कार्यालय छेउका घरहरू काठको भएकाले छिमेकीहरूले प्रदर्शनकारीहरूलाई आगजनी नगर्न आग्रह गरेपछि तोडफोड मात्र गरेका हुन् ।
नेकपा (एमाले) की केन्द्रीय सदस्य मञ्जु भण्डारीको घरमा पनि तोडफोड र आगजनी गरिएको छ । घरबाट सामान निकालेर बाहिर तोडफोड र आगजनी गरिएको थियो । यस्तै पूर्व प्रतिनिधि सभा सदस्य जयकुमार राईको घरमा पनि आगजनी गरिएको बताइएको छ । त्यस्तै काङ्ग्रेस नेता उमेश थापा, कार्यपालिका सदस्य सिर्जना नेपालको घरमा पनि आगजनी गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले जानकारी दिए ।
त्यस्तै धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको होटल कञ्चनजङ्घा होटलमा पनि आगजनी गरिएको छ । यस्तै धरानमा रहेको मीनबहादुर गुरुङकोभाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरिएको छ । साँझसम्म अवेरसम्म एउटा समूह आगजनी गर्दै हिँडिरहेको प्रहरीले जनाएको छ ।
धरानमा तोडफोड र आगजनी जेन जीले गरेको होइन
यसैबीच नवीन राईले आफ्नो फेसबुक पेजमा धरानमा भएको आगजनी र तोडफोड जेनजी समूहले नगरेको स्पष्ट पारेका छन् । उनले ‘हाम्रो आन्दोलन ४ः३० मा समापन गरिएको हो । आगजनी र तोडफोड गर्ने हाम्रो नीति होइन । आगो लगाउने निर्देशन कसैलाई दिएको छैन’ भन्ने स्टाटस लेखेका छन् ।
यस्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूले पनि सोमबार जेन जी समूहको आन्दोलनमा सरकारले गरेको दमनको विरोध गर्दै र्याली निकालेको छ । सरकारविरुद्ध उनीहरूले नाराबाजी गरेका थिए ।