भद्रपुर । पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोपले झापामा ठूलो सङ्ख्यामा चौपायाहरू प्रभावित भएका छन् ।

रोगबाट हालसम्म ३ हजार १५ वटा चौपायामा सङ्क्रमित देखापरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाले जनाएको छ । जिल्लामा सबैभन्दा बढी मेचीनगर नगरपालिका प्रभावित बनेको पाइएको छ । मेचीनगरमा आइतबारसम्म ५ सय ३० वटा चौपायामा सङ्क्रमण फैलिएको छ । हालसम्म ६ वटा पशु मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार भद्रपुरमा २ सय १० सङ्क्रमित भएका छन् । ७ वटा चौपाया मरेका छन् । त्यसैगरी ४ हजार खोप पठाइएको छ भने १५ सय लगाइसकेको पालिकाले जनाएको छ । त्यस्तै गौरीगञ्जमा १ सय ६० सङ्क्रमित हँुदा ५ वटा चौपाया मरेका छन् । सो पालिकाले २ हजार खोप लगेकोमा हालसमम ९ सय खोप लगाइसकेको कार्यालयले जनाएको छ ।  

त्यसैगरी गौरादहमा १ सय ५० सङ्क्रमित भएका छन् । सो पालिकामा हालसम्म चौपाया मरेका छैनन् भने पालिकामा गत वर्षको मौज्दात रहेको २५ सय १० वटा खोप राखेको छ । यता दमकमा हालसम्म ११ वटा चौपायामा सङ्क्रमण देखापरे पनि हालसम्म मरेका छैनन् र खोप पनि पालिकाले लगेको छैन । त्यस्तै कमल गाउँपालिकामा ३ सय ८ चौपाया सङ्क्रमित देखापरेकोमा ४ वटा मरेका छन् । सो पालिकाले ८ हजार खोप लगेको छ भने हालसम्म ४ हजार ५ सय खोप लगाइसकेको पाइएको छ । त्यसैगरी शिवसताक्षी नगरमा सङ्क्रमित हुनेको सङ्ख्या ३ सय पुगेको छ । हालसम्म खोप लगेको छैनन् भने चौपाया पनि मरेका छैनन् । कन्काईमा १ सय ७८ सङ्क्रमित भएका छन् भने ३ हजार ५ सय खोपमा २३ सय ५० खोप लगाइसकेको पाइएको छ । सो पालिकामा हालसम्म चौपाया मरेका छैनन् ।

झापा गाउँपालिकामा १ सय ४ सङ्क्रमित हुँदा एउटा चौपाया मरेको पाइएको छ भने सो पालिकाले कुनै खोप लगेको छैन । यता  बाह्रदशी गाउँपालिकामा ८९ वटा चौपाया सङ्क्रमित हुँदा ३ वटा मरेका छन् भने ५ हजार खोप कार्यालयबाट लगिसकेको छ । त्यस्तै हल्दीबारीमा ६० वटा चौपाया सङ्क्रमित भएका छन् भने २ वटा मरेका छन् । सो पालिकाले ५ हजार खोप लगेकोमा ४ हजार लगाइसकेको जनाएको छ । त्यसैगरी कचनकवल गाउँपालिकामा १ सय ५१ सङ्क्रमित भएका छन् भने ३ हजार खोपमा २ हजार २५ खोप लगाइसकिएको सो पालिकाले जनाएको छ ।

त्यसैगरी बिर्तामोडमा २ सय ३० वटामा सङ्क्रमित देखिएको छ । एउटा मरेको छ भने २६ सय ५० खोप लगेकोमा पन्ध्रसय लगाइसकिएको जनाएको छ । अर्जुनधारामा २ सय १२ वटा चौपाया सङ्क्रमित देखापरेका छन् भने हालसम्म चौपाया नमरेको पाइएको छ । सो पालिकाले ३ हजार खोप सुरक्षित गरेको पाइएको छ ।

त्यस्तै बुद्धशान्ति गाउँपालिकामा ३ सय २० वटा चौपायामा सङ्क्रमण देखा परेको छ । हालसम्म चौपायामा क्षति पुगेको छैन भने ३५ सय खोप लगेकोमा १७ सय ८८ खोप लगाइसकेको सो पालिकाले जनाएको छ । मेचीनगरले १५ हजार १ सय ५० खोप लगेकोमा ७ हजार ८३ खोप लगाइसकिएको जनाएको छ ।

जिल्लामा हालसम्म २९ वटा चौपाया लम्पी स्किन रोगका कारणबाट मरिसकेको पशु सेवावित्र केन्द्र झापाका प्रमुख भट्टराईले जनाइन् । अस्पतालमा आएको ७२ हजार ५ सय खोपमध्ये ५४ हजार ८ सय ११ थान खोप पालिकामा पठाइसकिएको उनको भनाइ छ । जिल्लामा हालसम्म २४ हजार ५ सय ५६ खोप लगाइसकिएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिएकी छन् । झापाका १५ वटा पालिकामध्ये सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहेको पनि उनले बताइन् ।

गाई–भैंसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिन थालेपछि किसानको गोठमा पुगेर खोप लगाउन थालेको उनले बताइन् । रोग पन्ध्रवटै पालिकामा  फैलिँदै गएकोले समुदायमा गाई–भैंसी पालिरहेका किसानहरू पनि सचेत भई रोग नियन्त्रणका लागि आफ्नो घर वरिपरि सफा राख्ने र औषधिहरूको प्रयोग गर्नुका साथै आफै सुरक्षित र सचेत भएर सहयोग गर्न किसानहरूलाई आग्रह गरेकी छन्  ।

लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट गाई–भैंसीमा सर्ने यो रोगप्रति विशेष सजगता अपनाउन प्राविधिकहरूले सुझाएका छन् । गाई–भैंसीमा उच्च ज्वरो आउने, दाना–पानी कम खाने र दूध उत्पादन घट्नेजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा लम्पी स्किन पुष्टि भएको प्राविधिकले जनाएका छन् । यस्ता लक्षण देखिएपछि पशुको शरीरमा घाउ आउने उनीहरूको भनाइ छ ।

मेचीनगरमा केही हप्ताअघि बङ्गुरमा अफ्रिकन स्वाइन फिवर र गाई–भैंसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखापरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको थियो ।

सङ्घीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सह–सचिव डा.पशुपति ढुङ्गाना, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा.मुकुल उपाध्याय, केन्द्रीय पशुपक्षी रोग अन्वेषक प्रयोगशालाका पशु चिकित्सक डा.विकेशकुमार राउतलगायतको टोलीले मेचीनगरको प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

सङ्क्रमित पशुलाई मलहम, पेनकिलर, ज्वरोको औषधि, सरसफाइका लागि फिनेल, पोटासियम परनेटलगायतका औषधि प्रयोग गर्न पशु चिकित्सकले सुझाव दिएका छन् ।  झापामा यस रोगको पहिलो लहर ०७९/८० मा देखापरेको थियो । सो वर्ष ३८ हजार १ सय १७ वटा चौपाया सङ्क्रमित देखिएका थिए । जसमा २४ हजार २ सय १५ खोप लगाइएको थियो  । २३ हजार ४ सय ७० निको भएका थिए भने २ हजार ८४ वटा चौपाया मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।