इटहरी । मनसुन निष्क्रिय भएसँगै तराईमा गर्मी ह्वात्तै बढेको छ । गर्मीले जनजीवन प्रभावित बनाएको छ । 

कोशी प्रदेशका तराईका जिल्ला झापा, मोरङ, सुनसरी, उदयपुरमा केही दिनयता खपिनसक्नु गरी गर्मी बढेको हो । गर्मीले विद्यार्थीहरूदेखि मजदुरहरूसम्म प्रभावित छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार मङ्गलबार कोशी प्रदेशका तराईका अधिकांश क्षेत्रमा दिउँसो ३७ डिग्री र साँझ २८ डिग्री रहेको बताइन् ।

वेदर डटकमका अनुसार सुनसरीको इटहरी क्षेत्रमा ३७ डिग्री सेल्सियससम्म गर्मी रहेको थियो भने आर्द्रता (ह्युमिडिटी) चाहिँ ५२ प्रतिशत रहेको थियो । आद्र्रता भन्नाले वायुमण्डलमा विद्यमान अदृश्य जलवाष्पको मात्रालाई जनाउँदछ । जसले गर्दा गर्मीको अनुभव हुन्छ । वेदर डटकमका अनुसार इटहरीमा गर्मीको अनुभव ४५ डिग्री तापक्रम रहेको गरिएको थियो । यस्तै विराटनगरमा ३८ डिग्री सेल्सियस तापक्रम पुुगेको थियो । गर्मीको अनुभव भने ४६ डिग्री बराबरको गरिएको थियो । यस्तै धरानमा पनि ३७ डिग्री तापक्रम पुगेको थियो । झापाको भद्रपुरमा पनि ३८ डिग्री तापक्रम रहेको थियो । यस्तै गर्मीको अनुभव चाहिँ ४६ डिग्री सेल्सियसको गरिएको थियो । भद्रपुरमा ह्युमिडिटी ६४ प्रतिशत रहेको थियो । 

यस्तै उदयपुरको त्रियुगा क्षेत्रमा ३८ डिग्री तापक्रम रहेको थियो । आद्र्रता भने ५१ प्रतिशत रहेको थियो । गर्मीको अनुभव भने ४४ डिग्री गरिएको थियो । आद्र्रता बढेका कारण पनि दैनिक जनजीवन प्रभावित भएको हो । गर्मीका कारण काम गर्न निकै सकस भएको रूपा थारू बताउँछिन् । इटहरीको रिलायन्स स्पिनिङ मिल्समा दैनिक ज्यालादारीमा काम गर्दै आएकी उनले आफूहरू जस्ता दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई गर्मीले थप समस्या भएको बताउँछिन् । 

गर्मीका कारण विद्यालयमा विद्यार्थीहरूको उपस्थिति पनि क्रमशः पातलिँदै गएको विद्यालयका शिक्षकहरू बताउँछन् । इटहरी उपमहानगरपालिका–५ ज्योति मा.वि.का प्रधानाध्यापक चिरञ्जीवी भट्टराई तीन दिनयता बढेको गर्मीका कारण विद्यार्थीको सङ्ख्या घटेको हो । यता अत्यधिक गर्मी बढेपछि सुनसरीको इटहरी उपमहानगरले एक दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । कार्यवाहक नगर प्रमुख सङ्गीताकुमारी चौधरीको संयोजकत्वमा बसेको छलफलले आज (बुधबार) एक दिन नगर क्षेत्रका सबै विद्यालयहरू बिदा दिने निर्णय गरेको हो । गर्मीका कारण विद्यार्थीहरू प्रत्यक्ष प्रभावित भएको र सम्भावित जोखिमलाई मध्यनजर गर्दै एकदिन बिदा दिने निर्णय गरेको उपमहानगरकी कार्यवाहक प्रमुख चौधरीले बताइन् ।

कोशीबाट बाहिरियो मनसुन

नेपालमा सरदर मितिभन्दा १५ दिनअघि अर्थात् गत जेठ १५ गते भित्रिएको मनसुन कोशी प्रदेशबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशबाट मङ्गलबार बिहान साढे ११ बजे मनसुन पश्चिम दिशातर्फ मोडिएको हो । सरदर बाहिरिएको मनसुन कोशी प्रदेशबाट पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएको मौसमविद् झा बताउँछन् । गत जेठ १५ गते भित्रिएको मनसुन सक्रिय बन्दा जेठ १७ गते खोला तथा नदीको जलस्तर बढेको थियो । 

जलस्तर बढ्दा धरान–धनकुटा सडक–खण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको एकसय मिटर सडक लेउती खोलाको बाढीले बगाएको थियो भने झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको थियो । तर बङ्गलादेशको खाडीमा बनेको अर्काे न्यून चापीय प्रणाली नेपालनजिक आइसकेकोले मौसम बदली हुनसक्ने उनले बताए । भारतको मध्य भू–भागमा पनि न्यून चापीय क्षेत्र बन्दै गएको र जसको असर नेपालमा आइपुग्नेछ र वर्षा गराउनेछ । यसवर्ष जल तथा मौसम विज्ञान विभागले धेरै वर्षा हुने र गर्मी पनि बढी हुने आँकलन सार्वजनिक गरिसकेको छ ।