विराटनगर । पूर्वमन्त्री तथा इटहरी उपमहानगरपालिका–९ निवासी ६० वर्षीय रामकुमार सुब्बासहित तीन जनाविरुद्ध ‘गैरकानूनी शरीर तलासी तथा बेइज्जती’ मुद्दा मोरङ अदालतमा दर्ता भएको छ ।
सुब्बासहित इटहरी–९ निवासी ५५ वर्षीय गोपाल साह र सोही ठाउँकी २८ वर्षीय सुनिता घिमिरेविरुद्ध चैत १३ गते मुद्दा दर्ता भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । अहिले यो मुद्दा विचाराधीन रहेको छ ।
इटहरी नगरपालिका–९ निवासी मोरङको सुनवर्षी नगरपालिकामा माइतीघर भएकी २६ वर्षीय एक महिलाले दायर गरेको फिराद पत्रअनुसार सुब्बासहित तीन जनाले उनको माइतीघरमा पुगेर २०८१ चैत २२ गते गैरकानूनीरूपमा शरीर तलासी तथा बेइज्जती गरेको आरोप लगाइएको छ ।
पीडित महिलाको २०७९ जेठ ३० गते विवाह भएको थियो । त्यसपछि श्रीमान् र परिवारका सदस्यहरूले हेलाहोचो गरी घरबाट निकाला गरेपछि उनले अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान् र ससुराको बारम्बारको यातनाका कारण उनले सम्बन्धविच्छेद र अंश मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी थिइन् । यो मुद्दा पनि हाल विचाराधीनमा छ ।
पीडितका अनुसार उनको माइतीघरमा पुगेका सुब्बाले आफू इटहरीको नेता र पूर्वमन्त्री रहेको भन्दै मुद्दा फिर्ता गर्न दबाव दिएको बताइएको छ । फिराद पत्रमा उल्लेख छ कि प्रतिवादीहरूले पीडित महिलाको लिङ्गप्रति प्रश्न उठाएका थिए । ‘तिमी हिजडा भएको कारण अस्वीकार गरेको’ भन्दै अपमान गरेको आरोप छ ।
सुब्बाले ‘तिम्रो लिङ्ग हेर्नको लागि हामीले आफ्नै महिला कर्मचारी ल्याएका छौँ । तिमीले आफू केटी मानिस हो भन्ने कुराको पुष्टि गर्नुपर्छ’ भन्दै दबाव दिएको फिरादमा उल्लेख छ । पीडितको भनाइअनुसार उनले इन्कार गरे तापनि सुब्बाले आफू पूर्वमन्त्री रहेको र प्रहरी प्रशासनमा प्रभाव रहेको भन्दै ‘सार्वजनिकरूपमा नाङ्गेझार पारिदिने’ धम्की दिएको बताइन् । त्यसपछि सुब्बा र गोपाल साहको निर्देशनमा सुनिता घिमिरेले पीडित महिलाको देब्रे पाखुरामा समातेर जबरजस्ती घरको भान्साको छेउमा लगेर सबै कपडा खोली गोप्य अङ्गहरू हेरेको आरोप छ । त्यसपछि ‘हिजडा हैन रहेछ’ भन्दै प्रतिवादीहरू फर्किएका थिए ।
पीडित महिलाले आफ्नो जाहेरीमा घटनाको विस्तृत विवरण दिँदै भनेकी छन्, ‘मैले घरमा आउनुभएका पाहुनालाई हाम्रो संस्कार बमोजिम सत्कार गरेँ । तर उनीहरूले मेरो व्यक्तित्वमाथि प्रश्न गरी, मेरो लिङ्गप्रति प्रश्न गरी, जबरजस्ती तलासी लिएर गम्भीर कसूर गरेका छन् ।’
उनले थप भनेकी छन्, ‘यसरी प्रतिवादीहरूले ममाथि अमानवीय व्यवहार गरेर मलाई अपमानित गर्ने र मेरो बेइज्जती गर्ने उद्देश्यले मेरो व्यक्तिगत गोपनीयताको अधिकारलाई समेत बेवास्ता गरी कानूनविपरीत कार्य गरेका छन् ।’ यो मुद्दाले व्यक्तिगत गोपनीयता, महिला अधिकार र शक्ति दुरुपयोगका विषयहरूलाई उजागर गरेको पीडित महिलाको भनाइ छ ।
कानूनी आधार र माग
पीडित महिलाले व्यक्तिगत गोपनीयताको हनन् गर्दै आफूमाथि गाली बेइज्जती र अपमान गरेको र आफूले कानूनीरूपमा अंश पाउने हकअधिकारलाई कुण्ठित गर्ने प्रयास गरेको भन्दै कारबाही र क्षतिपूर्तिको माग गरेकी छन् ।
उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०१ को उपदफा (१) र ३०६ को उपदफा (१), (२) (क) अन्तर्गत यो कसूर पर्ने भन्दै प्रतिवादीहरूलाई सोही संहिताको दफा ३०१ को उपदफा (२) तथा दफा ३०७ को उपदफा (१) बमोजिम कारबाही र क्षतिपूर्ति दिलाउन माग गरेकी छन् । यता पूर्वमन्त्री सुब्बाले अंश मुद्दा अदालतमा दिएको हुनाले सो मुद्दा मिलाउने विषयमा छलफल भएको बताए ।
‘पीडित भनिएका महिला र केटाको मैले नै विवाह गरिदिएको हो । पछि उनीहरूबीच विवाद भएपछि अलग भएछन् । त्यसपछि ती महिलाले अदालतमा अंश मुद्दा दिएको रहेछ । त्यही मुद्दा छलफलबाट टुङ्गियो भने किन मुद्दा हालिराख्नु भनेर मलाई छलफलमा बोलाएको थियो र म गएको हो’ सुब्बाले भने, ‘अहिले अदालतमा मुद्दा दर्ता भएको मैले पनि सुनेको छु । आफू सामाजिक मान्छे भएकाले कुनै प्रकारको अपशब्द मैले बोलेकै छैन ।’