इटहरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित हनुमन्त कम्पोजिट प्यानल प्रा.लि.ले कानूनविपरीत बालबालिकालाई काममा लगाएको भन्दै श्रम कार्यालय विराटनगरले ५० हजार जरिबाना तिराएको छ ।

काम गर्ने क्रममा एक बालकको हात मेसिनमा च्यापिएपछि यो घटना बाहिरिएको हो । स्थलगत अनुगमनपश्चात् उद्योगले नियमविपरीत बालबालिकाहरूलाई काममा लगाउने गरेको तथ्य फेला परेपछि तत्काल ६० हजार जरिबाना तिराइएको श्रम कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत पुष्प कट्वालले बताए । पीडित बालकका परिवारले गत वैशाख पहिलो साता उद्योगविरुद्ध कारबाही तथा उचित क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए । 

उद्योगमा काम गर्ने क्रममा बालकले दुवै हातको बूढीऔंला गुमाएको र उपचार खर्च तत्काल उपलब्ध गराउन उद्योग प्रशासनलाई निर्देशन दिइसकेको अधिकृत कट्वालले बताए ।

जनस्तरबाट प्राप्त गुनासो र लिखित उजुरीको आधारमा दुहबीको हनुमन्त उद्योगमा स्थलगत अनुगमन गरी सबै कामदारको कागजात माग गरिएको र परीक्षण गर्दा केही बालबालिकाहरू पनि कामदार देखिएकोले तत्काल ५० हजार जरिबाना तोकिएको र अन्तिम चेतावनी जारी गरेको अधिकृत कट्वालले बताए । उद्योगलगायत कुनै पनि निकायले १८ वर्ष नपुगेका  बालबालिकाहरूलाई काम नपाइने नेपालको कानूनमा उल्लेख छ ।