वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकामा स्थानीय नागरिकहरूको एउटा समूहले ‘बृहत् श्रमदान कार्यक्रममार्फत् सार्वजनिक सम्पत्तिको मर्मतसम्भार थालेको छ ।
वडाभित्र भत्किएका सडक, पुल, पुलेसालगायतका सार्वजनिक सम्पत्तिहरूको मर्मत सम्भार र संरक्षण गर्ने उद्देश्यले बृहत् श्रमदान सुरु गरिएको हो । करिब ६० जना सहभागीको समूहले वडाका विभिन्न स्थानमा रहेका सडकका खाल्डाखुल्डी पुर्ने, पुलका भत्किएका पिलर र रेलिङहरू मर्मत गर्ने जस्ता कार्यहरू गरिरहेको छ । अभियानका संयोजक विष्णु रानामगरका अनुसार श्रमदानमा ६० वर्षभन्दा मुनिका नागरिकहरूले प्रत्येक शनिबार स्वयम्सेवा गर्दै आएका छन् ।
यसैगरी अभियानलाई स्थानीय व्यापारी र व्यक्तिहरूले आवश्यक निर्माण सामग्रीहरू निःशुल्क उपलब्ध गराएर सहयोग गरिरहेका छन् । स्थानीय व्यापारीहरूले पनि यस अभियानलाई आर्थिक सहयोग प्रदान गरेका छन् । संयोजक रानामगरका अनुसार अहिलेसम्म करिब दुई लाख पचास हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ । यस सहयोग र श्रमदानकै कारण अहिलेसम्म स्थानीय हाटखोलामा लाग्ने बिहीबारे हाटमा सार्वजनिक खानेपानीको धारा निर्माण गरिएको छ ।
करमखोलाको पुलमा रेलिङ र पिलरको मर्मत गरिएको छ र विभिन्न सडकहरूमा रहेका खाल्डाखुल्डीहरू पुरिएका छन् । यो उदाहरणीय अभियानलाई वराहक्षेत्रको वडानम्बर १ लगायत अन्य वडाहरूमा समेत विस्तार गर्ने योजना रहेको संयोजक रानामगरले बताए । यस कार्यलाई केही व्यक्तिहरूले आलोचना गरिरहेको भए पनि दृढ रहेर समूह लागिपरेको समूहमा आबद्ध पूर्व प्रहरी सङ्गठनका केन्द्रीय सदस्य उद्धवप्रसाद घिमिरेले बताए ।