इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म निर्माण हुँदै गरेको एसियन हाइवेले इटहरी क्षेत्रको काम अघि बढाएको छ । आन्तरिक विवादका कारण लामो समयदेखि इटहरीमा काम रोकिएको थियो । अघिल्लो चरणमा नापजाँच सम्पन्न भए पनि संरचना हटाउने विषयमा विवाद देखिएपछि काम स्थगित भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एसियन राजमार्ग अन्तर्गत इटहरीको बूढीखोलादेखि लबीपुरस्थित देवीखोलासम्मको सडक क्षेत्राधिकारभित्र पर्ने १ सय २४ संरचना हटाउनेबारे ३५ दिने सूचना जारी गरेसँगै हाइवेले निर्माणमा तीब्रता पाउने भएको हो ।
बिहीबार प्रकाशित सूचनामा स्वेच्छाले संरचना हटाए स्वतःस्फूर्त मुआब्जा दिने उल्लेख गरेको छ । प्रशासनले बल प्रयोग नगरी आफै स्वेच्छाले सडक क्षेत्रभित्रका संरचनाहरू हटाउन विशेष अनुरोध पनि गरेको छ । स्वेच्छाले संरचना हटाउने व्यक्तिलाई ३५ दिनभित्र नागरिकता प्रमाण–पत्र, तीनपुस्ते प्रमाण, संरचनाको फोटो र बैङ्क खाता विवरणसहित निवेदन पेस गर्न सूचनामार्फत् उल्लेख गरेको आयोजना प्रमुख जगत प्रजापतीले बताए ।
इटहरीको बूढीखोलादेखि लबीपुरको देवीखोलासम्म करिब अढाई किलोमिटर सडक–खण्ड अन्तर्गत पहिलो चरणमा काम सक्ने गरी तयारी थालिएको छ, जसमा १ सय २४ वटा संरचना हटाउन आवश्यक रहेको काँकडभिट्टा–लौकही सडक आयोजना प्रमुख प्रजापतीले बताए । बिहीबार संरचना हटाउनेबारे १ सय २४ जनाकै नामावलीसहितको सूची सार्वजनिक गरिसकेको प्रजापतीले बताए ।
भत्किने संरचनाहरूको भौतिक अवस्था हेरेर मूल्याङ्कन गरिनेछ । त्यसको लागि समितिको संयोजक सुनसरीका प्रमुख जिल्ला अधिकारी रहने आयोजना प्रमुख प्रजापतीले बताए । पहिलो चरणमा ३ करोड ६६ लाख बराबरको मुआब्जा वितरण गरिने उनको भनाइ छ । भत्काउनु पर्ने या हटाइनुपर्ने सामग्री अन्तर्गत केही भवन, सुँगुरको खोर, सडकभित्रकै संरचनालगायत रहेका छन् । उल्लेखित संरचना स्थानीय आफैले हटाउन अनुरोध गर्दै प्रशासनले बल प्रयोग गरे क्षतिपूर्ति आफैले बेहोर्नुपर्ने आयोजना प्रमुख प्रजापतीको भनाइ छ ।
विकास निर्माणको काममा बाधक नबन्ने स्थानीयहरूको सहमति अनुरूप नै काम अघि बढाएको तर विद्युत् प्राधिकरणले समयमै बिजुलीका पोलहरू नहटाउँदा समस्या भएको प्रजापती बताउँछन् । सडक अन्तर्गत इटहरी खण्डको बूढीखोलादेखि लबीपुरसम्म तीनवटा ओभरपास बन्ने आयोजनाका इञ्जिनियर पल्लव श्रेष्ठले बताए ।
इटहरी चोकमा एउटा, पूर्वतर्फ जुटविकास वा तालतलैया जाने क्षेत्रमा अर्को र पश्चिमतर्फ इटहरी बसपार्कबाट हाइवे जोड्ने कलङ्कीमा अर्को ओभरपास बन्ने इञ्जिनियर श्रेष्ठ बताउँछन् । ‘आइरन वाल कन्स्ट्रक्सन’ गरेर ‘ओभरपास’ बन्ने उनले बताए । इटहरी चोकमा ४२ मिटर चौडाइ र साढे ५ मिटरको उचाइमा ‘ओभरपास’ बन्नेछ भने ‘पूर्व र पश्चिमतिर १३ मिटर चौडाइ र साढे ५ मिटर उचाइको ओभरपास बन्ने इञ्जिनियर श्रेष्ठको भनाइ छ । ‘दुवैतिर साढे ६ मिटरको सर्भिस लेन, साढे ५ मिटरको फुटपाथ, साइकल लेन र बीचमा साढे ३३ मिटरको सडक गरी ५० मिटर मापन गरेर काम सम्पन्न हुने श्रेष्ठको भनाइ छ ।
यसैबीच निर्माणाधीन एसियन हाइवे परियोजनाको करिब ३५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ । यही जेठ मसान्तभित्र सडकका सबै डाइभर्सन हटाइसक्ने र पुलसँगै कज–वे निर्माण सम्पन्न भइसक्ने आयोजनाको दाबी छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार, सहरी क्षेत्रमा ६ लेन, अर्धसहरी र वनक्षेत्रमा ४ लेनको मापदण्डमा सडक विस्तार हुनेछ । त्यस्तै सडक तीन वर्गमा निर्माण हुने जनाइएको छ । बजार, जङ्गल र ग्रामीण क्षेत्र छुट्याएर निर्माण भइरहेको आयोजनाले जनाएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ ।
३४ अर्ब ९० करोड रुपैयाँ लागतको यो परियोजनामा एसियन विकास बैङ्कको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानी रहेको छ । सन् २०२७ फेब्रुअरी १ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ । आयोजनाको सुरुवात सन् २०२४ फेब्रुअरी १ बाट गरिएको थियो ।