इटहरी । समाजका सूचना विनिमय हुने चिया पसलहरूमा आजकाल नकारात्मक विचार वीजारोपण गर्ने थलो बन्दै गएको छ ।
साँझबिहान चिया पसलमा भेटिने सुनसरी इटहरी उपमहानगरपालिका–५ का ज्येष्ठ नागरिक योगेन्द्र घिमिरेलाई देशका कुनै पनि नेता मन पर्दैनन् । ७३ वर्षीय घिमिरे नेताको चालामाला देखेर हैरान छन् । उनी भन्छन्, ‘हिजोआज नेताहरूको चालामाला देखेर दिक्क लाग्छ । खबर सुन्दा यता पनि भ्रष्टाचार उता पनि भ्रष्टाचार मात्रै भनेको सुन्छु ।’ इटहरी–६ स्थित त्रिवेणी टोलमा चिया पसल चलाएर बसेका युवराज आचार्यले चिया पिउन आउने अधिकांशले नेताप्रति खिसिट्युरी मात्रै गरेको सुनिने बताए । ‘जो आउँछन् खालि नेताकै कुरा गर्छन्, यसोउसो गरो नेताकै कुरा हुन्छ । यी भ्रष्टाचारी भए । खत्तम भए भन्ने मात्रै सुनिन्छ’–उनी भन्छन् ।
उनका अनुसार आफ्नो पसलमा दैनिक डेढ सयको हाराहारीमा युवादेखि प्रौढसम्म चिया पिउन आउने गरेका छन् । चिया खाँदै देशको राजनीतिप्रति चिन्ता व्यक्त गरिरहेको सुनिने उनी बताउँछन् । ‘राजनीतिक अवस्था र शीर्ष नेताहरूप्रति जनतामा निराशा छाएको प्रष्ट बुझ्न सकिन्छ’–उनी भन्छन् । कतिपयले चिया पसलबाटै धारणा निर्माण गरिरहेको उनको बुझाइ छ । ‘कसैले राजतन्त्रै ठीक थियो भन्ने पनि छन्, कसैले गणतन्त्रै ठीक भन्नेहरू पनि छन् । कतिपयमा अन्यौलता पनि देख्छु’ चिया पसले आचार्य सुनाउँछन् । चिया पसलमा स्थानीय नेताको भन्दा बढी शीर्ष नेताहरूको क्रियाकलाप र गतिविधिबारे चर्चा हुने गरेको छ ।
स्थानीय नेताहरू भने गणतन्त्रपश्चात् देश निकै अगाडि बढेको भनी बताउने गरेका छन् । इटहरीका नेकपा (एमाले) का अध्यक्ष यामकुमार सुब्बा भन्छन्, ‘गणतन्त्र स्थापनापछि देशमा धेरै विकास निर्माणको काम भएको छ । अहिले नै हरेस खाइहाल्नुपर्ने अवस्था छैन ।’ उनको बुझाइमा सामाजिक सञ्जालका कारण पनि ‘तिललाई पहाड’ बनाउने चलन बढेकाले चिया पसलहरूमा शीर्षनेताका विषयमा नकारात्मक टीकाटिप्पणी हुनु सामान्य ठान्छन् । चिया पसलले आजकाल नयाँनयाँ सूचना दिने गरेको छैन । विष बमन गर्ने स्थानको रूपमा परिभाषित हुँदै गएको स्वयम् चिया पसलेहरू नै बताउँछन् । इटहरी कटुवाल होटलका सञ्चालक गोविन्द कटुवाल भन्छन्, ‘चिया पसलमा खालि नकारात्मक चर्चा बढी हुने गरेको छ । सरकारका मन्त्री अनि नेताहरूले गरेको कामको विषयलाई लिएर चौतर्फी आलोचना हुने गरेको छ ।’
उनको बुझाइमा सबैकुरा नकारात्मक मात्रै छैन । ‘सोसल मिडियाका कारण स–साना कुराहरू क्षणभरमै भाइरल हुन्छ । यसकारण धेरै नकारात्मक कुरामा चर्चा हुनु स्वभाविकै होला’–उनले भने । नेता तथा मन्त्रीहरूको पछिल्ला गतिविधिले पनि जनतामा एक प्रकारको निराशा छाएको छ । हालै गृहमन्त्री रमेश लेखकको विषयले संसद् नै अवरुद्ध भएको थियो । भिजिट भिसा प्रकरणमा उनी जोडिएपछि जनतामा थप असन्तुष्टि बढेको छ । यस घटनामा उनी स्वयम्ले पत्रकार सम्मेलन गरेर चोखिने प्रयत्न गरेका छन् । यसले पनि आम नागरिकमा निराशा छाएको छ । तत्कालीन गृहमन्त्री रवि लामिछानेको विषयमा संसद्मा चर्को आवाज उठाउने गृहमन्त्री लेखक भने आफू पन्छिने प्रयत्न गरेका छन् ।
यस्ता विषयले पनि चिया पसल तातिने गरेको छ । नेताहरूको चालामाला देखेर पनि उदेक लाग्छ’–चिया पिउन आएका योगेन्द्र घिमिरेले थपे । अहिले चिया पसल विष बमन गर्ने स्थान बन्दै गएको स्थानीय नेता तथा कार्यकर्ताहरू स्वीकार्छन् । नेपाली काङ्ग्रेसका नेता दिवस पोखरेलले शीर्ष नेताप्रतिको आलोचना स्वभाविक भएको बताए । ‘तर सधैँ नकारात्मक विचार मात्रै उत्पन्न गर्दा सकारात्मक सोच हराउन सक्छ । यसमा चाहिँ ध्यान पु¥याउन आवश्यक छ’–उनले भने ।