- अनिल श्रेष्ठ
विराटनगर / वर्षाको कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वटा सडकमध्ये पाँचवटा एकतर्फी खुलेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चारवटा सडक खुलेको छैन । अझै सुचारु हुन नसकेको सडकहरुमा कोशी राजमार्ग धनकुटाको साँगुरिगढी ६ फेदि स्थित लेउती खोलामा आएको बाढीले १ सय मिटर सडक कटान गरेर बगाएको छ । उक्त सडक शनिबार रातीबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वर कार्कीले जानकारी दिए ।
यस्तै धनकुटाको चौविसे गाउँपालिका ४ मा निर्माणाधिन तमोर करिडोरको सडक खण्डअन्तर्गत छरुवा खोलामा बाढी आउँदा बाटो अवरुद्ध बनेको छ । यस्तै साँगुरिगढी ५ पहिरेस्थित डाँडाबजार, लुम्बाजुङ, कुहिभिर, ढाडेडाँडाको रवि राँके भेडेटार सडकमा पहिरो खस्दा एक पिकअप भेन पुरेको छ । उक्त सडक पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उता, उदयपुरको बेलका नगरपालिका ८ कोठुखोलास्थित उदयपुर मैनामैनी चुहार हुँदै भोजपुरसम्म संचालन हुने भित्री सडक पहिरोको कारण अवरुद्ध बनेको छ । अहिलेसम्म सो सडक खुल्न सकेको छैन । अबरुद्ध सबै सडक खुलाउने प्रयास जारी रहेको डिआइजी कार्कीले जानकारी दिए ।
वर्षापछि आएको बाढीले अवरुद्ध बनेको धनकुटाको साँगुरिगढी ६ स्थित नमस्ते झरना छेउमा अवरुद्ध बनेको कोशी राजमार्ग एकतर्फी खुलेको छ । यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान १३ निशाने खोलामा आएको बाढीले पुलमा लेदो थुप्रिएको र रुख ढलेको कारण बन्द भएको बाटो पनि खुलेको छ ।
यस्तै सुनसरीको चतरा बहराहक्षेत्र भित्री सडक खण्डमा १५ मिटर झरेको पहिरो सुरक्षाकर्मीे हटाएको छ भने झापाको मेचीनगर ६ कालिखोलास्थित पूर्वपश्चिम राजमार्गमा आएको बाढीका कारण बगाएको कालिखोला डाइभर्सन पुनः निर्माण गरिएको छ । यस्तै इलामको माइ नगरपािलका ७ स्थित महमाई इलामबाट लारुम्बा जाने भित्री पक्की सडक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बाटो पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।
यसैबीच पहाडि क्षेत्रमा परेको अविरल वर्षाको कारण बढेको केशलिया खोलाले बाँध फुटाउँदा विराटनगर १२ नम्बरको एकीकृत नमूना वस्ती जलमग्न भएको छ । १४५ घर दलित, मुसहर समुदायको वस्ती रहेको सो स्थानमा तत्काल बाँधको पुनः निर्माण नगरे थप जोखिम बढ्ने विराटनगरले जनाएको छ । हाल बाँसको जाली बनाएर सामान्य बाँध बनाएको भएपनि ठूलो बाढी आएको खण्डमा त्यसले नथाम्ने भन्दै सर्वसाधारण त्रसित बनेका छन् ।