इटहरी । भ्रष्टाचार र बेथिति बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नगर कमिटीले उपमहानगरलाई २३ बुँदे सुझावसहित विभिन्न मागहरू राख्दै ज्ञापन–पत्र बुझाएको छ ।

समाजवादीका प्रतिनिधिहरूले बुधबार २३ बुँदे माग तथा सुझावसहितको ज्ञापन–पत्र इटहरी उपमहानगरलाई बुझाएको हो । नगर समितिका संयोजक गौरीमान परियारको नेतृत्वमा गएको टोलीले इटहरी उपमहानगरको समसामयिक प्रशासनिक, आर्थिक, सामाजिक र पूर्वाधारसम्बन्धी विषयमा देखिएका कमी कमजोरीप्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग पत्र कार्यवाहक प्रमुख सङ्गीताकुमारी चौधरीलाई बुझाएका हुन् ।

समाजवादीले इटहरी क्षेत्रमा भएका विकास निर्माणमा खर्च भएको रकमको पारदर्शिता, नगर बस ल्याउदा उत्पन्न विवाद तथा अनियमितताको चर्चालाई टुङ्गोमा पु¥याउन माग गरेको छ । उपमहानगरलाई कर्मचारी भर्ती केन्द्र बनाएर नगरवासीलाई करको भार बोकाउने काम बन्द गर्न, अनावश्यक कर्मचारी हटाउन तथा अस्पताल र विद्यालयमा देखिएको नीतिगत भ्रष्टाचार, खर्चमा अपारदर्शिता कृषिक्षेत्रमा सहुलियत जस्ता विविध विषय उठान गरी सुझावसहितको ज्ञापन–पत्र बुझाएको समाजवादी जिल्ला सदस्य झलक बनले बताए ।

विशेषगरी विद्युतीय बस खरिद, अस्पतालमा सिटीस्क्यान जडान, खोलामा तटबन्ध, शिक्षामा गुणस्तर सुधार, पारदर्शी बजेट तर्जुमा लगायतका विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्न उपमहानगर नेतृत्वलाई सुझाव दिइएको बनले बताए । नेकपा (एकीकृत समाजवादी) ले ज्ञापनमार्फत् वर्तमान व्यवस्थाको कमजोरीहरूलाई सुधार गर्दै इटहरीलाई समावेशी, उत्तरदायी र जनमुखी प्रशासनमार्फत् समुन्नत नगर बनाउनेतर्फ अग्रसर हुन स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको समाजवादीका प्रदेश कमिटी सदस्य रमेश खत्रीले बताए ।

समाजवादीका प्रदेश कमिटी सदस्यहरू केवल फुयाल, गणेश बुढाथोकी, कमला दुलाललगायतको सहभागितामा ज्ञापन–पत्र बुझाइएको हो । ज्ञापन–पत्र बुझ्दै उपप्रमुख चौधरीले आगामी बजेट निर्माण प्रक्रियामा इटहरीका सबै राजनीतिक दलको सुझाव समेटेर अघि बढ्ने बताइन् । साथै विकास निर्माणदेखि विभिन्न योजनाहरूमा पनि सबैको सल्लाह सुझाव लिएरै अघि बढ्ने प्रतिबद्धता जाहेर गरिन् ।