धरान । सुनसरीको धरानमा ४५ दिने निःशुल्क मोबाइल मर्मत तालिम गत वैशाख १३ गतेदेखि सुरु भएको छ । तालिममा २० जना युवाहरू सहभागी छन् ।
अर्ल इलेक्ट्रोनिक्स एण्ड इन्स्टिच्युट सुनसरीको आयोजनामा जारी तालिममा मुख्य प्रशिक्षकका रूपमा रहेका भान्जा मोबाइल तालिम केन्द्रका सञ्चालक सविन लम्सालले सहजीकरण गरिरहेका छन् ।
उक्त तालिममा सहभागीहरूलाई धरान उपमहानगरपालिकाले आयोजना गरेको दुई दिने रोजगार मेलामा मोबाइल तालिम सिक्न चाहने युवाहरूले भरेको फारमका आधारमा लिखित तथा मौखिक अन्तरवार्तापश्चात् २० जना युवा छनोट भएका थिए । धरान उपमहानगरपालिकाले गत वैशाख ११ र १२ गते रोजगार मेला लगाएको थियो ।
तालिममा अर्का प्रशिक्षकका रूपमा मीनकुमार राना मगर छन् । व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी सुनसरीको आर्थिक सहयोगमा तालिम सञ्चालन भइरहेको छ ।