धनकुटा । मुक्कुम्लुङ संरक्षण सङ्घर्ष समिति र केबलकार निर्माण कार्य खारेज गर्नुपर्छ भन्दै आन्दोलन गरिरहेका सङ्घर्ष समितिले आह्वान गरेको तमोर करिडोरमा दोस्रो दिन बुधबार पनि बिहानैदेखि यातायात ठप्प पारेका छन् ।
धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. १ लाबरबोटे, याक्चाना, हंशमोरङलगायत विभिन्न चोकमा सङ्घर्ष समितिका नेता तथा कार्यकर्ताहरूले बुधबार बिहानैदेखि तमोर करिडोरमा साँझ ५ बजेसम्म यातायात आवागमन ठप्प पारेका हुन् । उनीहरूले मुक्कुम्लुङमा केबलकार निर्माण गर्नु हुँदैन भनेर शान्तिपूर्ण आन्दोलन गरिरहँदा प्रहरी प्रशासनले चार दिनअघि गोली प्रहार गरी केबलकारको विपक्षमा उत्रिएका सर्वसाधारणलाई गम्भीर घाइते बनाएको विरोधमा अनिश्चितकालीन मेची राजमार्ग, तमोर कोरिडोर यातायात बन्द आह्वान गरेका छन् ।
तमोर करिडोरको यातायात बन्द सफल बनाउनको लागि पहिचानवादी नेता योगेन्द्र पालुङ्वा, विश्वदीप तिगेला, जसपा नेपालका नेता सुमन चेम्जोङलगायत नेताहरू धरानबाट सहभागी भएका थिए ।
त्यसैगरी कोशी नाम खारेज धनकुटा जिल्ला सङ्घर्ष समितिका सदस्य उद्धवमणि राई, पहिचानवादी युवा नेता कमलदीप तिगेला, एकल जाति संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूलगायतको नेतृत्वमा पहिचानवादी युवाहरू तमोर करिडोरमा तैनाथ रहेका थिए । उनीहरूले ताप्लेजुङको मुक्कुम्लुङमा केबलकार निर्माण गर्ने कार्य नेपाल सरकारले फिर्ता नगरेसम्म आन्दोलन निरन्तर रूपमा अघि बढाउने चेतावनी दिएका छन् ।
बुधबार लाबरबोटेमा भेला 
भएका नेता कार्यकर्ताहरूले भाटा, लाठी बोकेर तमोर करिडोरको हंशमोरङ, 
याक्चाना, लाबरबोटे चोक, बूढीमोरङलगायत करिडोर सडक तथा चोकमा भेला भएर 
मार्चपाससमेत गरेका थिए । उनीहरूले दिनभर कुनै पनि प्रकारको सार्वजनिक 
यातायातका साधनहरू चल्न दिएनन् ।
 
                     
         
                                        
                                                                                                 
        






























