धरान /धरान सङ्गीत प्रतिष्ठानले साङ्गीतिक कार्यक्रमसहित विश्व सङ्गीत दिवस मनाएको छ। शुक्रबार साँझ धरान–८ स्थित वराह कम्प्लेक्समा साङ्गीतिक कार्यक्रम तथा सम्मान गरेर विश्व सङ्गीत दिवस मनाइएको हो।
कार्यक्रममा सङ्गीत प्रशिक्षक विनोद प्रियदर्शी राई र सन्दीप प्रधानलाई जनही नगद १० हजारसहित सम्मान गरिएको हो। प्रतिष्ठानका संरक्षक तथा धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ र अध्यक्ष रमेश राईले उनीहरूलाई नगद तथा सम्मान–पत्र प्रदान गरे। सो अवसरमा जिल्ला ट्राफिक प्रहरी प्रमुख सुभाष केसी, रोहितमान थापालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
उनीहरूलाई प्रतिष्ठानका प्रमुख सल्लाहकार तथा वरिष्ठ गायक दीप श्रेष्ठले प्रशंसा–पत्र प्रदान गरे। कार्यक्रममा वरिष्ठ गायक श्रेष्ठसहित नयाँ तथा पुराना कलाकारहरूले गीत प्रस्तुत गरेका थिए । प्रतिष्ठानले २०७३ सालदेखि निरन्तररूपमा विश्व सङ्गीत दिवस मनाउँदै आएको प्रतिष्ठानका अध्यक्ष रमेश राईले बताए ।
कार्यक्रममा बोल्दै धरानका मेयर साम्पाङले प्रतिष्ठानका लागि आफ्नै भवन निर्माण गर्न जग्गाको आवश्यकता देखिएकाले आफू पनि त्यसका लागि सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा धरानका भूतपूर्व सैनिक तथा विभिन्न सङ्घ–संस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
































