इनरुवा । आगलागीमा परी क्षति भोगेका इनरुवाका सुरेन्द्र महतोले ग्यास रेगुलेटर बिमाबापतको क्षतिपूर्ति पाएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका महतोले भान्सामा प्रयोगमा ल्याएको ग्यासमा जोडेको रेगुलेटरबापत १३ लाख २७ हजार १ सय ४ रुपैयाँ क्षतिपूर्ति पाएका हुन् ।

आरसी ट्रेडिङ कम्पनी प्रा.लि.को रेगुलेटर जोडेका महतोले आगलागीमा भएको नोक्सानी मूल्याङ्कनका आधारमा कम्पनीका तर्फबाट उक्त रकम क्षतिपूर्ति पाएका हुन् । इनरुवा नगरपालिकामा औपचारिक कार्यक्रमका बीच कम्पनीले क्षतिपूर्ति रकम पीडितलाई हस्तान्तरण गरेको हो ।

नगर प्रमुख केदार भण्डारीका साथै कम्पनीका नेपाल प्रमुख रूपकुमार क्षेत्री र इटहरी सम्पर्क प्रमुख प्रकाश नेउपानेले संयुक्तरूपमा कम्पनीले उपलब्ध गराएको क्षतिपूर्ति बापतको चेक पीडितलाई हस्तान्तरण गरेका छन् ।

रेगुलेटर प्रयोग बापत क्षतिपूर्ति पाउने विषय नपत्याएका सुरेन्द्रले बिमाबापतको रकम पाएकोमा खुसी व्यक्त गरेका छन ।  कम्पनीले दिएको जानकारीअनुसार आरसी ट्रेडिङको ग्यास रेगुलेटर डिजिटल र सुरक्षित छ । सम्भावित दुर्घटना बिमा २ करोडसम्मको भएकाले ढुक्क भएर रेगुलेटरको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।