विजयपर । कोशी प्रदेशका एक सय ३७ स्थानीय तहमध्ये इलामको माईजोगमाई गाउँपालिकामा सबैभन्दा बढी बेरुजु भएको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले आर्थिक कारोबार हेर्दा वा जाँच्दा अनियमितता देखाएको रकमलाई बेरुजु भनिन्छ । यसअन्तर्गत ताप्लेजुङको पाथीभरा याङ्वरक र पाँचथरको याङ्वरक गाउँपालिकामा भने बेरुजु शून्य भेटिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार सबैभन्दा बढी माईजोगमाई गाउँपालिकाको ८ दशमलव २० प्रतिशत बेरुजु देखिएको हो ।

इलाम जिल्लाको १० स्थानीय तहमा सबैभन्दा बढी माईजोगमाई गाउँपालिकाको १३ लाख १५ हजार सात सय ९७ रुपैयाँ लेखा परीक्षण गर्दा ८ दशमलव २० प्रतिशत अर्थात् एक लाख ७ हजार ८ सय ४८ रुपैयाँ बेरुजु देखिएको हो । इलामको सबैभन्दा कम बेरुजु सूर्योदय नगरपालिको छ । सूर्योदय नगरपालिकाको २६ लाख ३९ हजार नौ सय ७४ रुपैयाँको लेखा परीक्षण गर्दा शूून्य दशमलव शून्य सात प्रतिशत अर्थात् एक हजार ७ सय ७१ रुपैयाँ बेरुजु देखिएको हो ।

ताप्लेजुङ जिल्लाका नौ स्थानीय तहमा फक्ताङ्लुङ गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । फक्ताङ्लुङ गाउँपालिकाको नौ लाख १२ हजार एक सय आठ रुपैयाँ गरिएको लेखा परीक्षणमा ६ दशमलव १२ प्रतिशत अर्थात् ५५ हजार सात सय ९७ रुपैयाँ बेरुजु देखिएको हो । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा नौ लाख ८७ हजार एक सय ३६ रुपैयाँ लेखा परीक्षण गर्दा एक रुपैयाँ पनि बेरुजु देखिएको छैन ।

पाँचथर जिल्लाका आठ स्थानीय तहमध्ये मिक्लाजुङ गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । मिक्लाजुङ गाउँपालिकामा १५ लाख ६८ हजार ८ सय २२ रुपैयाँ बराबरको लेखा परीक्षण गर्दा आठ दशमलव शून्य सात प्रतिशत अर्थात् एक लाख २६ हजार ६ सय १० रुपैयाँ बेरुजु देखिएको छ । पाँचथरको याङ्वरक गाउँपालिकाको ११ लाख ५६ हजार एक सय ९० रुपैयाँको लेखा परीक्षण गर्दा बेरुजु देखिएको छैन ।

यस्तै फालेलुङ गाउँपालिकामा १२ लाख ३७ हजार ४६ रुपैयाँको परीक्षण गर्दा शून्य दशमलव १६ प्रतिशत अर्थात् एक हजार नौ सय ५२ रुपैयाँ बेरुजु देखिएको छ । सङ्खुवासभा जिल्लाका १० स्थानीय तहमा खाँदबारी नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ ।

खाँदबारी नगरपालिकाको १८ लाख ३० हजार ६ सय ६० रुपैयाँको लेखा परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् ६९ हजार ५ रुपैयाँ बराबर बेरुजु देखिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा ८ लाख १९ हजार एक सय ५३ रुपैयाँको लेखा परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् ३० हजार आठ सय ५१ रुपैयाँ बराबर बेरुजु देखिएको हो । सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा सबैभन्दा कम एक दशमलव ३७ प्रतिशत बेरुजु देखिएको छ । धर्मदेवीमा १० लाख २१ हजार तीन सय ९ रुपैयाँको लेखा परीक्षण गर्दा १३ हजार ९ सय ५९ रुपैयाँ बेरुजु देखिएको हो ।

तेह्रथुम जिल्लाका छ स्थानीय तहमध्ये सबैभन्दा बढी म्याङ्लुङ नगरपालिकामा बेरुजु बढी ७ दशमलव ५४ प्रतिशत देखिएको छ । म्याङ्लुङ नगरपालिकाको १२ लाख ६६ हजार नौ सय दुई रुपैयाँको लेखा परीक्षण गर्दा ७ दशमलव ५४ प्रतिशत अर्थात् ९५ हजार ४ सय ६७ रुपैयाँ बेरुजु देखिएको छ । मेन्छ्यायेम गाउँपालिकामा सबैभन्दा कम शून्य दशमलव २० प्रतिशत बेरुजु देखिएको छ । ६६ लाख नौ हजार दुई सय दुई रुपैयाँको लेखा परीक्षण गर्दा एक हजार तीन सय १२ रुपैयाँ बेरुजु देखिएको हो ।

धनकुटाका सात स्थानीय तहमध्ये महालक्ष्मी नगरपालिकामा १३ लाख ७७ हजार ४ सय ३१ रुपैयाँ परीक्षण गर्दा २८ हजार एक सय ३१ रुपैयाँ अर्थात् २.०४ प्रतिशत बेरुजु देखिएको छ । साँगुरीगढी गाउँपालिकाको ९ लाख चार हजार ७ सय २८ रुपैयाँ परीक्षा गर्दा ८ हजार ६ सय ५९ अर्थात् ०.९२ प्रतिशत बेरुजु देखिएको छ । भोजपुरका नौ स्थानीय तहमध्ये अरुण गाउँपालिकामा सबैभन्दा सबैभन्दा बढी बेरुजु देखिएको छ ।

अरुण गाउँपालिकाको १० लाख ८७ हजार १८ रुपैयाँ लेखा परीक्षण गरिँदा २५ हजार ३ सय ३९ अर्थात् २ दशमलव ३३ प्रतिशत बेरुजु देखिएको छ । भोजपुरको सबैभन्दा कम रामप्रसादराई गाउँपालिकामा ९६ लाख ८ हजार ९ सय १४ रुपैयाँको परीक्षण गर्दा शून्य दशमलव ४५ प्रतिशत अर्थात् चार हजार ३ सय ६६ रुपैयाँ बेरुजु देखिएको हो ।

खोटाङ जिल्लाका १० स्थानीय तहमध्ये खोटेहाङ गाउँपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । कुल १३ लाख ५७ हजार ६ सय ७३ रुपैयाँ लेखा परीक्षण गर्दा ५ दशमलव ४१ प्रतिशत ७३ हजार ४ सय ४५ रुपैयाँ बेरुजु देखिएको हो । खोटाङको हलेसीतुवाचुङ नगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

कुल १६ लाख ७७ हजार ३ सय ३४ रुपैयाँ लेखा परीक्षणमा ८ हजार ७ सय २४ रुपैयाँ अर्थात् शून्य दशमलव ५२ प्रतिशत बेरुजु देखिएको हो । सोलुखुम्बु जिल्लाका ८ स्थानीय तहमध्ये लिखुपिके गाउँपालिका सबैभन्दा बढी बेरुजु देखिएको छ । कुल ५ लाख ३९ हजार ३ सय ५५ रुपैयाँको लेखा परीक्षण गर्दा २५ हजार २ सय १८ रुपैयाँ अर्थात् ४ दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको सबैभन्दा कम शून्य दशमलव १४ प्रतिशत बेरुजु देखिएको छ । कुल १५ लाख ४४ हजार एक सय दुई रुपैयाँ लेखा परीक्षण गर्दा २ हजार १ सय ४२ रुपैयाँ बेरुजु देखिएको हो ।

ओखलढुङ्गा जिल्लाका आठ स्थानीय तहमा चम्पादेवी गाउँपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । कुल ८ लाख ३२ हजार ६ सय ६४ रुपैयाँको लेखा परीक्षण गर्दा ५४ हजार ५ सय ४६ रुपैयाँ अर्थात् ६ दशमलव ५५ प्रतिशत बेरुजु देखिएको हो । ओखलढुङ्गाको चिशङ्खुगढीको सबैभन्दा कम बेरुजु देखिएको छ । कुल १० लाख ४२ हजार ४ सय ७६ रुपैयाँ लेखा परीक्षण गर्दा ११ हजार ३४ रुपैयाँ अर्थात १ दशमलव शून्य ६ प्रतिशत बेरुजु देखिएको छ ।

उदयपुरका आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकाको सबैभन्दा बढी बेरुजु देखिएको छ । कुल ३३ लाख ६९ हजार नौ सय २० रुपैयाँको लेखा परीक्षणमा १ लाख ५५ हजार ६ सय १३ रुपैयाँ अर्थात् ४ दशमलव ६२ प्रतिशत बेरुजु देखिएको हो । यस्तै रौतामाई गाउँपालिकाको सबैभन्दा कम बेरुजु देखिएको छ । कुल १३ लाख ४८ हजार २ सय ३७ रुपैयाँको लेखा परीक्षण गर्दा १६ हजार ५ सय १० रुपैयाँ अर्थात् १ दशलमव २२ प्रतिशत बेरुजु देखिएको हो । झापाका १४ स्थानीय तहमा बिर्तामोड नगरपालिकाको सबैभन्दा बढी ४ दशमलव ५४ प्रतिशत बेरुजु देखिएको छ ।

कुल २८ लाख ५१ हजार ७ सय ७४ रुपैयाँको लेखा परीक्षण गर्दा एक लाख २९ हजार ५ सय ४१ रुपैयाँ बेरुजु देखिएको छ । झापा गाउँपालिकामा सबैभन्दा कम शून्य दशमलव ५७ प्रतिशत बेरुजु देखिएको छ । ९९ लाख पाँच हजार ९ सय ११ रुपैयाँको लेखा परीक्षण गर्दा पाँच हजार ६ सय ५२ रुपैयाँ बेरुजु देखिएको छ । झापा जिल्लाको मेची नगरपालिकाको लेखा परीक्षण गरेको प्रतिवेदनमा देखिएको छैन ।

मोरङका १७ स्थानीय तहमा पथरीशनिश्चरे नगरपालिकाको सबैभन्दा बढी तीन दशमलव ५२ प्रतिशत बेरुजु देखिएको छ । कुल १३ लाख ८९ हजार ८ सय ३८ रुपैयाँको लेखा परीक्षणमा ४८ हजार ९ सय २५ रुपैयाँ बेरुजु देखिएको हो । विराटनगर महानगरपालिकाको सबैभन्दा कम एक दशमलव शून्य ३ प्रतिशत बेरुजु देखिएको छ । कुल ६८ लाख ९३ हजार एक सय ६३ रुपैयाँको लेखा परीक्षणमा ७१ हजार १ सय ५३ रुपैयाँ बेरुजु देखिएको छ ।

सुनसरीका १२ स्थानीय तहमध्ये दुहबी नगरपालिकाको सबैभन्दा बढी ७ दशमलव ११ प्रतिशत बेरुजु देखिएको छ । कुल २० लाख १७ हजार सात सय ५९ रुपैयाँ लेखा परीक्षण हुँदा एक लाख ४३ हजार ४ सय १० रुपैयाँ बेरुजु देखिएको हो । धरान उपमहानगरपालिकाको सबैभन्दा कम शून्य दशमलव ७६ प्रतिशत बेरुजु देखिएको हो । कुल ४२ लाख १९ हजार ४ सय ८९ रुपैयाँको लेखा परीक्षण हुँदा ३२ हजार ३२ रुपैयाँ बेरुजु प्रतिवेदनमा देखिएको छ ।