विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडी विद्यार्थीहरूले प्रदेश योजना आयोग कोशी प्रदेशको गाडीमा विद्यार्थीहरुले आगजनी गरेका छन् । उनीहरूले आज विहान साढे १० बजे को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा आगजनी गरेका हुन् । 

मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जना विद्यार्थीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको रिहाईको माग राख्दै विद्यार्थीहरू शुक्रबारदेखि आन्दोलित रहेका छन् । 

पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको र निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए । 

उनीहरुले यसअघि विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । पक्राउ परेका यादवसहितको टोलीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

प्रक्राउ पर्ने विद्यार्थीहरुमा  रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन्  ।