विराटनगर/मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी)माथि आक्रमण गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

 प्रक्राउ पर्नेमा  रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली वडा नम्बर–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली वडा नम्बर –८ का १९ वर्षीय विषेक झा र रंगेली– वडा नम्बर २ का मिलन मिश्र रहेका छन्। 

पक्राउ परेकाहरुको समूहले आक्रमण गर्दा ४ जना नगर प्रहरी घाइते भएको  मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताएका छन्। नगर प्रहरीहरु सुनीता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे घाइते भएको बताएका छन्। 

डिएसपी बस्नेतले भने,नगर प्रहरीहरुको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रंगेली अस्पतालमै उपचार भइरहेको बताएका छन्।’पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली वडा नम्बर–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुव्र्यवहार गरेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘६ जनाको समूहले कार्य कक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुरव्र्यवहार एवं हातपात गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

’पक्राउ परेकाविरुद्ध अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढेको उनले बताए। पक्राउ परेको समूहले आफू विद्यार्थी रहेको र निजी विद्यालयहरुले आफूखुसी कानुन विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाए भन्दै जेष्ठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए। 

निजी विद्यालय लिँदै गरेको शुल्क कम हुनुपर्ने र शिक्षक नियुक्ति नियम अनुसार हुनुपर्ने माग राख्दै आन्दोलन थालेको विद्यार्थी समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघका सदस्य दीपक यादवले गरेका थिए।  रंगेलीको जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीले बुधबार नगरपालिका अगाडि नाराबाजी गरेका थिए। 

यादवको नेतृत्वमा ६ जना पुनः बिहीबार दिउँसो साढे ३ बजेतिर नगरपालिका पुगेर नाराबाजी गरे। त्यतिबेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरुले कार्यवाहक प्रमुख र प्रमुख प्रशासकीयमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ। भीडलाई रोक्न खोज्दा नगर प्रहरीलाई समेत आक्रमण गर्दै उनी कार्यकक्षमा प्रवेश गरेको बताइएको छ। 

पक्राउ परेकाहरुलाई बिना शर्त रिहाई गर्नुपर्ने माग राख्दै विराटनगरको महेन्द्र मोरङका विद्यार्थीहरु आन्दोलन उत्रेका छन्।उनीहरुले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोडशेष चोकमा केही समय सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए। पक्राउ परेका यादवसहितको टोलीलाई बिना शर्त रिहाई नगरे थप आन्दोलन गर्ने उनीहरुले बताएका छन्।