संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयअन्तर्गत पर्यटन विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा विनियोजित रकमबाट वराहक्षेत्रको औलिया मठ र वराहक्षेत्र मन्दिरमा पूर्वाधार निर्माणको काम हुने भएको छ । 

बहुवर्षीय योजनाअन्तर्गत विनियोजित ४ करोड रुपैयाँबाट पूर्वाधार निर्माणको काम हुने विभागका डिई सचिन्द्र यादवले जानकारी दिए । 

बजेटअन्तर्गत औलिया मठमा गेट, टायल्स छपाइ, मण्डप निर्माण र शौचालय निर्माणको काम सुरु हुने इन्जिनियर यादवले जानकारी दिए । वराहक्षेत्रमा भने ढुंगा छाप्ने र ड्रेन निर्माणको काम हुने छ । 

चालु आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँको काम सम्पन्न हुनु पर्ने भए पनि आर्थिक वर्ष समाप्त हुनै लाग्दा स्थानीयको सरोकारमा केही दिनपछि काम सुरु हुने नेकपा माओवादी केन्द्रका बराहक्षेत्र अध्यक्ष कमलबहादुर कट्वालले जानकारी दिए । तत्कालीन पर्यटन मन्त्री सुदन किरातीले औलिया मठ र बराहक्षेत्रको पूर्वाधार निर्माणमा बजेट विनियोजन गरिदिएको अध्यक्ष कटवालले बताए । 

बराहक्षेत्र नगरपालिकाले औलिया मठ निर्माणका लागि औलिया बाबा छिन्न्मस्ता संरक्षण मञ्चको पहलमा डिपिआर निर्माण गरेको स्थानीय बुद्ध श्रेष्ठले जानकारी दिए । 

आज बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, नेकपा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेन्याङ्बो, बराहक्षेत्र- १ का वडाध्यक्ष किसन थापालगायत स्थानीय सरोकारवालाहरुले बराहक्षेत्र र औलिया मठमा निर्माण हुने पूर्वाधारस्थलको स्थलगत अवलोकन गरेका छन् । 

क्रमागत बजेट भएकाले पूर्वाधार निर्माणको काम निरन्तर हुने बताइएको छ ।