धरान । गत आइतबार धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएका १८ वर्षीय बालकको उपचारको क्रममा बुधबार निधन भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिए पनि  थप उपचारका लागि न्युरो अस्पताल विराटनगरमा उपचारकै क्रममा धरान उपमहानगरपालिका–१९ भिक्टोरिया चोकका बालक ताङ्छुहाङ लिम्बूको निधन भएको हो ।

उनलाई धारिलो हतियार प्रहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले मङ्गलबार एक बालकसहित तीन युवालाई पक्राउ गरेको छ । उनीहरूबीच विगतको विवादलाई लिएर मृतकमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धरान–१९ कै २० वर्षीय गोपाल लामगादे, १९ वर्षीय समिर तामाङ र एक बालक छन् । उनीहरू घटनापश्चात् फरार रहेका थिए । उनीहरूलाई धरान–२० चिण्डेडाँडाबाट प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।