इटहरी । सुनसरीको इटहरीमा आगामी आर्थिक वर्ष २०८१÷०८२ बाट सञ्चालन हुने गरी चारवटा विद्युतीय नगर बस ल्याउन लागिएको छ ।

बस सञ्चालनका लागि खरिद प्रक्रिया सुरु भइसकेको उपमहानगरले जनाएको छ । चीनको लियोच्याङस्थित जोङ्थोङ कम्पनीबाट इटहरीका लागि चारवटा विद्युतीय नगर बस खरिदको प्रक्रिया अघि बढिसकेको उपमहानगरका प्रवक्ता तथा नगर बस सञ्चालन समितिका संयोजक दिवस पोख्रेलले बताए । पोख्रेलले हालै सोही स्थानमा पुगी बसको अवलोकन गरिसकेका छन् ।

उक्त बस २४ सिट क्षमताको रहने नगरका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष पोख्रेलले बताए । उपमहानगरले अघिल्लो वर्षदेखि नै नगर क्षेत्रमा आवश्यक अपाङ्गमैत्री विद्युतीय नगर बस सञ्चालन गर्ने भनी घोषणा गरेको थियो । रुट परमिट, भित्री सडकको मापदण्ड र अवस्था जाँच सकेपछि तत्काललाई चारवटा विद्युतीय नगर बस खरिदको प्रक्रिया अघि बढेको हो । एउटा बसको मूल्य एक करोड ४९ लाख रहेको जनाएको छ । इटहरीको २० वटै वडामा सञ्चालन हुने गरी रुट परमिट बनाइएको उपमहानगरले जनाएको छ ।

उक्त बस अपाङ्गमैत्री रहनेछ । इटहरीमा नगर बस सञ्चालनको लागि कार्यपालिका बैठकमार्फत् वडानम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति नै बनाएर काम अगाडि बढाइएको थियो । नगरवासीको चाहना र मागलाई मध्यनजर गर्दै इटहरी स्थानीय सरकारले गत २०८० फागुन ८ गते नै नगरमा ४ वटा बस खरिदका लागि नेसनल फायर सेफ प्रा.लि.सँग सम्झौता गरिसकेको छ ।

उक्त प्रा.लि.सँग ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा चारवटा नगर बस खरिद गर्ने सम्झौता भएको उपमहानगर अन्तर्गत मेसिनरी औजार व्यवस्थापन शाखा प्रमुख गणेश भट्टराईले बताए ।

नगर बस सञ्चालनअघि इटहरीमा पहिलो चरणमा परीक्षण गरिने र सफल भए नगरको आवश्यकताअनुसार सङ्ख्या नगर बस थप गरिने पनि उपमहानगरले जनाएको छ । नगर बस खरिद प्रक्रिया अघि बढे पनि बस भने भदौमा मात्र नेपाल आइपुग्ने चीनको लियोच्याङबाट उपमहानगरका प्रवक्ता पोख्रेलले बताए ।