प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन्। 

आजको बैठकमा आर्थिक वर्ष २०८१र८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उनले विगतका वर्षहरुमा पनि बजेट विनियोजन हुने र कार्यान्वयन नहुने परिपार्टी रहेको भन्दै यो वर्ष त्यस्तो अवस्था आउन नदिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

“हरेक वर्ष बजेट कर्णप्रिय हुने र कार्यान्वयन नहुने समस्या छ”,सांसद खतिवडाले भने, “ठूला आयोजनालाई पर्याप्त बजेट विनियोजन गरेर समयमै आयोजना सम्पन्न गर्नेतर्फ सरकारले बेलैमा ध्यान दिनुपर्छ।असारे बजेटको पद्धतिलाई अन्त्य गरी विकास पूर्वाधारलाई प्राथमिकता दिइनुपर्ने आवश्यकता छ।”

सांसद ईश्वरबहादुर लामाले बजेटमा समावेश भएका केही नयाँ कार्यक्रम सकारात्मक रहेको भन्दै तिनको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताएका छन्। उनले मे २९ तारिखको दिनलाई सगरमाथा दिवसका रुपमा मनाउन र सगरमाथा संवाद कार्यक्रमलाई निरन्तरता दिन पनि सरकारसमक्ष माग गरेका छन्।

सांसद छिरिङ डम्डुल लामा भोटेले बजेट सन्तुलित, समयसापेक्ष र गतिशील रहेको भन्दै यसले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोलाई समेटेको बताए। बजेटमा पाँच रुपान्तरणका क्षेत्रलाई प्राथमिकता दिएको बजेटलाई कार्यान्वयनमुखी बनाइनुपर्नेमा जोड दिएका छन्।

सांसद शिशिर खनालले बजेट सन्तुलित रहेको र राजस्वको स्रोतमध्ये अनुदानको हिस्सा ठूलो रहेकाले यो लक्ष्यमा पुग्न कठिनाइ हुने धारणा राखने। बजेटमा जलवायु पविर्तनको जोखिम न्यूनीकरणको विषयलाई महत्व दिन नसके पनि सूचना प्रविधिको विकास, हवाई सम्पर्क सञ्जाल विस्तारलगायत विषय बजेटका सकारात्मक पक्ष भएको उनले उल्लेख गरेका छन्।

सांसद ऐनबहादुर शाही ठकुरीले बजेटले लोकप्रिय नारा दिएको भन्दै कार्यान्वयनमा जटिलता हुने दाबी गरे।उनले बजेटमा कर्णालीको विषयलाई यथेष्ट नसमेटिएको गुनासो गरेका छन्। 

सांसद चन्द्रबहादुर विश्वकर्माले बजेट कार्यान्वयनको सोच र प्रतिबद्धता जरुरी भएको उल्लेख गरेका छन्। सांसद दुर्गा राईले बजेटले रुपान्तरणकारी आयोजनालाई समेटेको, सबै क्षेत्र, समुदाय र भूगोललाई सम्बोधन गरेको बताए। 

सांसद प्रेम सुवालले मुलुकको वास्तविकतालाई बजेटले सम्बोधन गर्न नसकेको तर्क गर्दै सरकारले गर्नुपर्ने सामान्य कामसमेत निजी क्षेत्रलाई दिइएकाप्रति आपत्ति प्रकट गरेका छन्।