भद्रपुर । झापाका एकजना पुराना एवम् चर्चित उद्योगपतिको नागरिकता शङ्कास्पद देखिएको भन्दै छानबिनका लागि उजुरी परेको छ ।

उद्योगपति गोविन्दराम सरिया (गोविन) विरुद्ध जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको हो । सरियाको अहिले साथमा भएको नागरिकता कानूनविपरीत भएको किटानीसहित प्रशासन कार्यालय झापामा गोदावरी–७ ललितपुर, हाल झापा बिर्तामोडका राजकुमार तिमल्सिनाले गत वैशाख २८ गते ‘नागरिकता छानबिन गरी आवश्यक कारबाही गरी पाऊँ’ भनी प्रमाणसहित उजुरी दिएपछि घटना बाहिरिएको हो ।

उजुरीमा भनिएको छ–‘जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ९ (तत्कालीन) स्थायी ठेगाना उल्लेख गरिएको नागरिकता नं. ११८०१९२१ जारी मिति २०३५ जेठ २२ तथा प्रतिलिपि २०५८ वैशाख २३ गते उल्लेख रहेको बाजे सुरजमल सरिया (इन्डिया) तथा बुबा कनिराम सरिया नागरिकता प्रमाण पत्र नं. ११८०/८४६ स्थायी ठेगाना भद्रपुर–८ झापा उल्लेखित जन्मसिद्ध आधारित नागरिकता भएका बुबाले कुन नागरिकता ऐन, नियम, दफा, उपदफामा आधारित भई छोरा गोविन्दराम सरियालाई वंशजको नागरिकता दिलाएका थिए ?

सो सम्बन्धमा समेत आवश्यक छानबिन गरी नागरिकता जारी गर्दा निजले फर्जी कागजातसमेत पेस गरी सरकारी काम कारबाहीप्रति अवरोधसमेत गरेको हुनसक्ने तथा निजको नागरिकता के–कति कुन विद्यमान कानून आकर्षित भई वंशजको आधारमा नागरिकता जारी गरियो ? सो सम्बन्धमा आवश्यक छानबिन गरी तत्काल कारबाही गरी पाऊँ । निजले उक्त वंशजको आधारमा नारिकता लिई राज्यका कुन–कुन निकायमा क्षति पु¥याई लाभ लिएका छन्, सो उपर समेत तत्काल छानबिन गरी कारबाही गरी पाउँ । साथै, आफ्नो नागरिकता वंशजको बनाई निजका छोरा दिनेश सरियालाई समेत २०५८ मङ्सिर १७ गते १८८०४२११ नम्बरको नागरिकता दिलाइएकोले सबै प्रमाणहरूसमेत छानबिन गरी आवश्यक कारबाही गरी पाऊँ ।’

निवेदनको साथमा तिमल्सिनाले जिल्ला प्रशासन कार्यालय झापाले २०२५ फागुन १५ गते जारी गरेको कनिराम सरियाको जन्मसिद्ध नागरिकताको प्रतिलिपि, गोविन्दराम सरिया (गोविन्द सरिया)को नाममा २०३५ जेठ २२ मा जारी वंशजको नागरिकता र २०५८ मङ्सिर १७ गते जारी गरिएको दिनेश सरियाको वंशजको नागरिकताको प्रतिलिपिसमेत संलग्न गरेका छन् । यस्तो विवरणसहित उजुरी परेपछि प्रशासन कार्यालय झापाले २०८१ वैशाख २८ गते १५२३ नम्बरमा दर्ता पनि गरेको छ । उजुरी निवेदनमा गृह मन्त्रालय नागरिकता वितरण शाखा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय,उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र भूमि सुधार विभागलाई बोधार्थ दिएको उल्लेख छ ।

कनिराम सरियाको नागरिकता जन्मसिद्ध भए पनि कानूनको खेलवाड गर्दै कनिराम सरियाले छोरा गोविन्दराम सरियालाई २०३५ साल जेठ २२ गते नागरिकता नम्बर ११८०१९२१ को वंशजको नागरिकता तथा १९८५५/४०६६९ नम्बरको राहदानी दिलाउन सफल भए ।

उक्त वंशजको नागरिकता प्राप्त गर्ने कानूनी आधार कुनै पनि थिएन तर, पनि राज्यका शासकलाई रिझाउँदै कानूनविपरीत नागरिकता प्राप्त गरी पुनः २०५८ साल वैशाख २३ गते झापा जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपिसमेत दिन सफल भए । सोही आधारमा गोविन्द सरियाले आफ्ना छोरा दिनेश सरियालाई समेत २०५८ मङ्सिर १७ गते १८८०/४२११ नम्बरको वंशजको नागरिकता दिलाएको उजुरी पत्रमा उल्लेख छ ।

भारतको बिहारबाट वि.सं. २०२३/०२४ तिर नेपाल प्रवेश गरी झापा जिल्लाको भद्रपुर–चन्द्रगढी आसपास केही सामान्य जीवनयापन गरेर बस्दै आएका थिए । कनिराम सरिया बिहारमै १९७४ फागुन १५ गते जन्मेका हुन् । उनले २०२५ फागुन १५ गते जन्मसिद्धको नागरिकता लिँदा ५१ वर्ष पुगेका थिए । कनिराम सरिया बाबु सुरजमल सरियाका छोरा हुन् । उनले नेपाल प्रवेश गरेपछि बाबुको नागरिकता विनै तत्कालीन अञ्चल न्यायाधीश मनमोहन मिश्रको हस्ताक्षरमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका थिए । त्यसपछि उनी बीचमा केही समय भारतमै फर्किए भने पछि पुनः नेपाल आई बसोबास गरे । तत्कालीन नागरिकता ऐनमा बाबुको नागरिकता जन्मसिद्ध हुँदा छोरा, नाति, पनाति सबैको नागरिकता जन्मसिद्ध नै हुने विद्यमान कानून थियो ।

उनले नुनदेखि सुनसम्मको व्यवसाय गर्न भ्याएको उजुरीकर्ता तिमल्सिनाको दाबी छ । अधिकांश व्यवसायमा अरूलाई अगाडि सारेर आफू नपत्याउने गरी पछाडि बसेर खेल खेल्न माहिर सरियाको नागरिकता नै कानूनविपरीत भएको भन्दै उजुरी दिएको उनले बताए । नेपाल प्रवेश गरेको दुई वर्षमा नै जन्मसिद्ध नागरिकता दिएको विषयमा खोजी गरिएको उनको भनाइ छ । कनिरामले कसरी जन्मसिद्ध नागरिकता पाए भन्ने मुख्य विषय रहेको उनले बताए । वंशजको नागरिकता प्राप्त गरेसँगै गोविन्दराम सरियाले पूर्वका झापा, मोरङ, सुनसरीलगायतका स्थानका प्रशासकहरू, मझौला व्यवसायीहरू र साना व्यवसायीहरूलाई अत्यधिक दबाव र प्रभावमा आफ्नो धन्दाहरू सञ्चालन गर्न थालेको उनी बताउँछन् ।

उनले यिनै नागरिकता प्रयोग गरी धेरै व्यवसायीहरूलाई दुःख र हैरानी दिएका छन् भने सुपारी, चन्दन, सुन, हुन्डीलगायतका अवैध भारतीय रकमहरूसमेत ओसार–पसार र जुवातास खेलाउनेसम्म काममा अग्रसर रहेका गोविन्द सरिया हाल काठमाडौँमा छन् । देशका मुख्य पार्टीका प्रमुख नेताहरूसँग सरियाको राम्रो उठबस रहेको उनको भनाइ छ ।

सोही फाइदा उठाउँदै विभिन्न समयमा भएका प्रधानमन्त्रीहरूसँग समेत उठबस गर्दै अर्बौं रुपैयाँ राजस्व छली सुपारी तथा चन्दन तस्करी, हुन्डी तथा अवैध रकम ओसार–पसारको धन्दा गर्दै आइरहेको उनले दाबी गरेका छन् । उजुरी गलत भएमा कारबाही भोग्न तयार रहेको उनको भनाइ छ । उजुरी परेको विषयमा प्रमाण जुटाउन सुरु गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । उजुरी परेपछि त्यसको प्रक्रियामा लाग्नुपर्ने प्रजिअ बास्तोलाको भनाइ छ ।