विराटनगर । ‘श्रमाधान रोजगार मेला’ विराटनगरमा आज (बुधबार) देखि सुरु हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त मेला विराटनगरस्थित सिटी प्यालेसमा हुने भएको हो ।
मेलामा ५० वटा स्टल रहने उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मङ्गलबारको पत्रकार सम्मेलनमा बताए । आन्तरिक रोजगारीलाई प्रवर्धन गर्ने तथा वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको उनले बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ सातै प्रदेशमा गर्नेछ । मेला हरेक प्रदेशमा दुई दिन चल्नेछ ।
जेठ १७ गते कोशी प्रदेशबाट सुरु हुने यो मेला बागमती प्रदेशमा जेठ ३० गते समापन हुनेछ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ । यस श्रमाधान रोजगार मेलामा रोजगार दिने र रोजगार पाउने जनाइएको छ ।
नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिएको हो । कोशी प्रदेशबाट सुरु हुने मेलाको भव्य कार्यक्रमबीच आज बिहान १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन् । कोशी प्रदेशमा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको संयोजनमा हुने उक्त मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवम् विभिन्न तालिमप्रदायक संस्थाहरूको उपस्थिति रहने तथा मेलामा सामी परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाललगायतले पनि स्टल राख्नेछन् ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने ध्येयका साथ आयोजना गरिएको मेलाको मुख्य उद्देश्य रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रवर्धन गरेर लैजानु हो । मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रूपमा लिइएको छ । ‘रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल हुनेछ । समग्रमा नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेला’ को महŒवपूर्ण भूमिका रहनेछ’ उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राउतले भने, ‘मेलामा श्रमिक तथा सरोकारवालाले रोजगारीसँग जोडिएका गुनासा पनि राख्न सक्नेछन् । मेलामा रोजगारीको खोजीमा रहेका व्यक्तिले रोजगारदातासम्म कसरी पुग्ने र अवसरको पहिचान कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी पाउन सक्नेछन् ।’
त्यस्तै रोजगारीका लागि आवश्यक सीपका बारेमा पनि मेलामा जानकारी गराइनेछ । सम्बन्धित निकायले रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा गुनासा सुनेर समाधानका उपाय निकाल्ने वातावरण पनि बन्नेछ ।
मेलाको उद्देश्य आन्तरिक रोजगारी प्रवर्धनसँगै वैदेशिक रोजगारी व्यवस्थित गर्नु पनि हो । वैदेशिक रोजगारीका सन्दर्भमा आवश्यक सूचना प्रवाह गर्ने तथा वैदेशिक रोजगारीका नाममा भइरहेको ठगीलाई न्यूनीकरण गर्ने सन्दर्भमा पनि मेला फलदायी हुने बताइएको छ । मेलामा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष तथा विभिन्न म्यानपावर कम्पनीका छाता सङ्गठनको सहभागिता रहनेछ ।
































