इनरुवा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वार्टर सुनसरीले १७ औं स्थापना दिवस मनाएको छ ।

इनरुवाको नम्बर ४ गण हेड क्वार्टरले वराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरीका डिएसपी शम्भु सुवेदीको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाएको हो । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल प्रा.लि.सँग नम्बर ४ गणले उपचार सम्झौतासमेत गरेको छ । बाहिनीपति सुवेदी र नोबेल मेडिकलका अस्पताल निर्देशक डाक्टर राजेश नेपालबीच सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ४ गण मातहत कार्यरत सुरक्षाकर्मीको स्वास्थ्योपचार लक्षित सम्झौता गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति सुवेदीले सशस्त्र प्रहरी बल सङ्गठनको नीति र निर्देशन बमोजिम अघि बढ्दै आएको बताए । उनले मान र मर्यादालाई उच्च राखी कार्य सम्पादनमा खटिन निर्देशन दिए । स्थापना दिवसको अवसरमा हेड क्वार्टर सुनसरीमा नवनिर्मित जुनियर अधिकृत ब्यारेक, क्यूआरटी र पाहुना घरको उद्घाटनसमेत गरिएको छ ।

विविध सांस्कृतिक कार्यक्रमसहित मनाइएको स्थापना दिवसमा विभिन्न प्रतियोगिताका विजेताहरूलाई शिल्ड तथा प्रमाण–पत्र वितरण गरिएको गणपति समेनन्द बज्राचार्यले जानकारी दिए ।