धरान । धरान–८ स्थित विद्याभूषण स्कुलमा बुद्ध जयन्तीको अवसरमा बुधबार बुद्ध जयन्तीबारे विशेष चर्चा भएको छ ।

स्कुलकी छात्रा सौजन्या बुढाथोकीले धरान–१८ स्थित नेपाल बौद्ध गुम्बाका बौद्ध गुरु नरेश गुरुङसँग स्कुलमै  बुद्ध जयन्तीबारे अन्तरवार्ता लिएकी हुन् । स्कुलले ‘बज टक शो’ नाम दिएर अन्तरवार्ता लिने अवसर जुराइदिएको स्कुलका प्रबन्ध निर्देशक पूर्णचन्द्र ढकालले जानकारी दिए ।

छात्रा बुढाथोकीले पञ्चशीलका सिद्धान्त के हुन्, बुद्ध जयन्ती किन मनाइन्छ, गौतम बुद्ध नेपालमा जन्मेका हुन् ? भनेर विश्वमा चिनाउन विद्यार्थीको कस्तो भूमिका हुन्छ जस्ता प्रश्नहरू गुरुलाई सोधेकी थिइन् । गुरु नरेश गुरुङले विद्यार्थीहरूलाई ज्ञानी, ध्यानी र त्यागी बन्न सुझाव दिए ।

बुद्धका उपदेशहरू अनुशरण गर्नसकेमा मानव जीवन सुन्दर बन्ने गुरुङले बताएका थिए । शान्तिका प्रतीक गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (पुनः नजन्मने गरी मृत्यु) एकै दिन भएको बुद्ध जयन्तीलाई त्रि–संयोगसमेत भन्ने गरिएको बौद्ध गुरु गुरुङले बताए ।

विद्यार्थीहरूलाई बुद्ध जयन्तीको महत्वबारे जानकारी दिन कार्यक्रमको आयोजना गरिएको स्कुलका प्रबन्ध निर्देशक ढकालले बताए । बुद्ध र बुद्ध जयन्तीबारे विद्यार्थीहरूलाई ज्ञान दिई उल्लेख्य योगदान पु¥याएको भन्दै स्कुलले बौद्ध गुरु नरेश गुरुङलाई सम्मान गरेको छ ।