विजयपुर । धरान–१४ स्थित बूढासुब्बा मन्दिरमा विशेष पूजा गरी बूढासुब्बा जयन्ती मनाइएको छ । बिहीबार मन्दिरमा पूजाअर्चना गरी जयन्ती मनाइएको हो ।

मन्दिर व्यवस्थापन समितिका सचिव तथा मन्दिरका पुजारी उत्तम आलेले वैशाख पूर्णिमाको दिन बाजागाजासहित निसान झण्डा, लिङ्गो ल्याएर बूढासुब्बा जयन्ती मनाउने गरेको बताए । उनका अनुसार यो दिन चण्डी थानमा पूजा गरिन्छ । मन्दिरका गहनाहरू ल्याइन्छ । वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती परेकाले काटमार नगरिएको पुजारी आलेले बताए । बूढासुब्बा जयन्तीलाई विशेष बनाउन सरकार नलागेको स्थानीयवासीको भनाइ छ ।

स्थानीय प्रेम पराजुजीले भने, ‘उपमहानगरपालिकाले बूढासुब्बा जयन्ती विशेषरूपमा मनाउन कहिल्यै पहल गरेन । नागरिकको बलमा जयन्ती मनाइँदैछ ।’ धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बूढासुब्बा मन्दिर व्यवस्थापन र प्रवद्र्धनमा गर्न लागिपरेको बताए । उनले वडाकै खर्चमा रङरोगन, सरसफाइ, पर्खाल घेराबारा लगाएको बताए ।

वडा कार्यालयले मन्दिरको प्रबद्र्धन र विकासका लागि काम गरिरहेको बताउँदै भने, ‘उपमहानगरपलिकाले खासै चासो दिएको छैन ।’ यहाँ पूर्णिमाको अघिल्लो दिन मन्दिर परिसरका बाँस काटेर  भोलिपल्ट बाँसका टुक्राहरू प्रसादको रूपमा वितरण गरिने प्रचलन छ । बाँसका टुक्रा घरमा राख्दा घरमा शुभ हुने धार्मिक विश्वास छ ।