नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई सम्मान गरिएको छ।

युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा   सञ्चारकर्मी गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुब्बा, भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरूलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताए। आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त गरेका छन्।उनले सत्यको बाटो कठिन भए पनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरूलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न आग्रह गरेका छन्।

 डा.कोइरालाले सहकारीको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई  अविलम्ब कारबाही गरी बचत फिर्ता हुनुपर्नेमा जोड दिए।नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेसमाथि अङ्कुश भएको धारणा राखेका छन्।

उनले युनियन सञ्चारकर्मीहरूको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्रस्थानमा उभिन्छ भन्दै युनियन स्वतन्त्र प्रेसको पक्ष र लोकतन्त्रको संरक्षणमा प्रतिबद्धत रहेको विचार राखेका छन्।युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्रीलगायतले स्वतन्त्र प्रेस युनियनको मूलमन्त्र भएको विचार राखेको छ।

सोही अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापितरु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरेको।उक्त कोषबाट सञ्चारकर्मीको स्वास्थ्य बीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्तानुसारको आर्थिक सहयोगलगायत उपलब्ध गराउने व्यवस्था गरिएको छ।

यसअघि स्थापना दिवसका उपलक्ष्यमा आयोजित  विराटनगरको महेन्द्र चोकबाट होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिमा पुरुषतर्फ कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने महिलातर्फ इन्दु साह, माला पालुङवा, जानुका नेपाल र सुशीला पाठक क्रमशः प्रथम, द्वितीय, तृतीय र चौथो भए। डा.काइरालाले विजयी खेलाडीलाई नगद र प्रमाणपत्र प्रदान गरेका छन्।