भद्रपुर । सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाले १७ औं स्थापना दिवसको अवसरमा २४ जनालाई सम्मान गरेको छ ।
गणमा मङ्गलबार आयोजित कार्यक्रममा समाजसेवी ओम साई पाथीभरा अस्पताल भद्रपुरका अध्यक्ष दीपक पोखरेलसहित बहालवाला उत्कृष्ट प्रहरी कर्मचारी ७ जना, १३ जना खेलाडी, अवकाश प्राप्त तीन जना प्रहरीसहित २४ जनालाई सम्मान गरिएको हो ।

समाजसेवी पोखरेललाई प्रशंसा–पत्र र खेलकुदलगायतका विभिन्न विधामा उत्कृष्टलाई मेडल र कदर–पत्रले सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल वराह बाहिनी मुख्यालय कोशी प्रदेश पकली सुनसरीका डिआइजी शम्भु सुवेदीलगायतले सम्मानित गरे । डिआइजी सुवेदीले सङ्गठनको निर्देशनमा रही देश र जनताको सेवामा समर्पित रहेर काम गर्दै सीमा सुरक्षामा सक्रिय भएर लाग्न प्रहरीलाई निर्देशन दिए । उनले निजी स्वार्थका लागि कुनै पनि काम नगर्न सुझाव दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जिल्लाको सीमा सुरक्षालाई कडाइ गर्दै सीमा केन्द्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । गण प्रमुख कविन्द्र राईले धन्यवाद ज्ञापन गरे । झापामा १ सय ४४ दशमलव २ किलोमिटर खुला सीमा रहेको छ । त्यस्तै ९ सय ९५ सीमा स्तम्भ, चार प्रस्तावित गुल्म र १७ वटा बिओपी रहेका छन् ।