पृष्ठभूमिः
विषयमा प्रवेश गर्नका निम्ति सानो खोजपछि थाहा भयो; देशमा पिएचडी होल्डर मात्रै पाँचहजारभन्दा बढी रहेछन् । मास्टर्स डिग्रीबाट दीक्षित हुनेहरू त अनगिन्ती छन् । तुलनात्मक हिसाबले यो गौरवमय प्रगति हो । तर, यसरी शिक्षाबाट आर्जन गरेको ज्ञान सही ठाउँमा लगानी हुँदैन । उदाहरणः सबैले जान्नै पर्ने ट्राफिक नियम पनि मानिसले यहाँ जान्दैनन् । यो लाजमर्दो हाम्रो तीतो यथार्थ हो ।

नियम नजानेपछि आफ्नो कमजोरी ढाक्न हर्नलाई हतियार बनाउँछन् । ‘हर्न बजाउनु गलत हो’ भन्नेपनि कसैलाई लाग्दैन । हर्नको हल्लाले सडकछेउको बस्तीमा निदाउने मौका छैन । सडक दुर्घटनामा मृत्यु नभएको कुनै दिन छैन । यस्ता कुराले ठूला–बडालाई केही फरक पर्दैन । भन्न त भन्छन्, ‘ट्राफिक नियम पालना गर है ।’ त्यसो भन्नेले नै जान्दैनन् । भनेर मात्रै के हुन्छ र ? समस्याको स्रोत र समाधान पहिचान हुँदैन । चालक प्रमाण–पत्रको परीक्षा लिने आफैलाई ज्ञान छैन । किनकि उनीहरूबाट जोखिमपूर्ण चालक उत्पादन हुन्छ ? हाकिमहरू नजाने झैं अभिनय गर्छन् । सिक्ने रुचि उनीहरूलाई छैन । दुर्घटनाको समाचार सुन्दा ‘अरू–अरू मात्रै मर्छन्’ भनेर सोच्छन् उनीहरू । त्यो जोखिमपूर्ण ड्राइभरसँग आफै पनि यात्रा गर्नुपर्छ भन्ने कुरा बिर्सिन्छन् । अतः सोचविहीन मानिसका निम्ति यो नियम काम नलागे पनि, ‘केही चेतनशीलका निम्ति उपयोगी हुन्छ कि ?’ भनेर, ट्राफिकका जरुरी नियमहरू यहाँ प्रस्तुत गर्दैछु ।

‘अकालमा मर्न नपरोस् र अपाङ्ग हुनु नपरोस्’ भन्ने सङ्कल्प लिएर, सचेतना फैलाउन सबैलाई निवेदन गर्दछु । तपाईंको प्रयासले समाजलाई राहत पुग्न सक्छ ।

(क) प्रस्थान गर्नुभन्दा पहिला गाडीलाई तयारी गर्दाका कुराहरूः
(१) सवारी साधनमा पुग्नेबेला ‘कुनै क्षति भएको पो छ कि ?’ भनी १० मिटर दूरीबाट गाडीलाई निरीक्षण गर्नु ।
(२) अनि गाडीलाई एक चक्कर लगाएर, ‘चारैवटा चक्का ठीक अवस्थामा छन् र कुनै जीवित प्राणी गाडीमुनी छ÷छैन’ भनी हेर्नु ।
(३) अतिरिक्त चक्का र ज्याक गाडीमा छन् भनी निश्चित गर्नु ।
(४) क्षमताभन्दा बढी लोड नहोस् भनी जाँच्नु
(५) पर्याप्त इन्धन, लुब्रिकेन्ट्स र पानी गाडीमा भरेको छ÷छैन भनी चेक गर्नु ।
(६) गाडीको कागजात, प्राथमिक उपचारका सामग्री र खानेखर्च जाँच गर्नु ।
(७) हेडलाइट, साइडलाइट र ब्रेकलाइट टेष्ट गर्नु ।
(८) चालक सिटमा बसेर ह्यान्ड ब्रेक कस्नु र गियरलाई न्यूट्रलमा राख्नु ।
(९) त्यसैगरी चालकको सिटलाई मिलाउनु ।
(१०) सबै ऐनाहरू ठीक ठाउँमा मिलाएपछि, सुरक्षा पेटी बाँध्नु ।
(ख) प्रस्थान गर्दाका कुराहरूः
(१) प्रस्थानका निम्ति सबैकुरा तयारी भएपछि अगाडि बढ्नुभन्दा पहिला पछाडिको सडकमा ट्राफिक गतिविधि ऐनामा चेक गर्नु ।
(२) अनि ‘प्रस्थान गर्दैछु’ भनेर दाहिनेतिरको बत्तीले सङ्केत दिनु ।
(३) पछाडिको अवस्था एकपटक ऐनामा हेरेपछि, ह्याण्डब्रेक खोल्नुभन्दा पहिला ब्लाइन्ड स्पटमा ‘केही चिज छलिएको छ कि ?’ भनेर आफ्नो दाहिने कुम माथिबाट पछाडि फर्केर हेर्नु ।
(४) अनि प्रस्थानको निम्ति सुरक्षित हुन्छ भने ट्राफिक नियम पालना गर्दै सामान्य गतिमा यात्रा सुरु गर्नु ।
(५) सुरुमा फुटब्रेक एकपटक टेष्ट गर्नु ।   
(ग) यात्राको दौरानमा सुरक्षाका कुराहरूः
(१) तीव्र गतिमा हाँक्दा र क्षमताभन्दा बढी लोड बोक्दा ब्रेकले काम गर्दैन भनी बुझ्नु ।
(२) आफूलाई अस्वस्थ महसुस भए वा मापसे गरेको बेला गाडी नचलाउनु ।
(३) ट्राफिक नियमलाई कहिले पनि अवज्ञा नगर्नु ।
(४) यात्राको दौरानमा थकाइ लाग्यो भने बिसाएर मात्रै चलाउनु ।
(५) लामो दूरीको यात्रामा २ जना चालक व्यवस्था गर्नु ।
(६) ड्राइभिङ गरेको बेला चालकको ध्यान भङ्ग हुन नदिनु ।
(७) ट्राफिक चिह्नहरूलाई ध्यान दिएर पालना गर्नु । (८) सडकको बीच सतहमा लेन छुट्याउन लगाइएको छोटोछोटो टुक्राका सेतो रेखा सामान्य चिन्ह हुन् ।
(९) लेन छुट्टाउने सेतो रेखा टुक्रिएको छैन भने त्यहाँ ओभरटेक गर्नु जोखिम हुने सङ्केत बुझ्नु ।
(१०) लेन छुट्याउने रेखा टुक्रिएको छैन र रेखा दोहोरो (डबल) छन् भने जोखिम भएकोले ओभरटेक गर्न निषेध गरिएको सङ्केत बुझ्नु ।
(११) पहेँलो रेखा कोरिएको छ भने सावधानीको सङ्केत बुझ्नु ।
(१२) जेब्राक्रसिङमा प्रवेश गरिसकेका पैदल यात्रीलाई पहिला सडक पार गर्न दिनु ।
(१३) जेब्राक्रसिङमा ठक्कर दियो भने जेलसजाय हुन्छ भनी बुझ्नु ।
(१४) बायाँबाट कहिल्यै पनि ओभरटेक नगर्नु ।
(१५) ओभरटेक गर्दाबाहेक सधँै बायाँ लेनमा चलाउनु ।
(घ) ड्राइभिङ गरेको बेला ध्यान दिनुपर्ने कुराहरूः
(१) गाडी चलाइरहेको बेला पछाडिको ट्राफिक गतिविधि छिनछिनमा ऐनाबाट चेक गरिरहनु ।
(२) साँघुरो सडकमा आफ्नो गति कमी भएकोले पछाडि जाम भयो भने अथवा पछाडिको गाडीले ओभरटेक गर्ने मनसाय देखायो भने र उसलाई सुरक्षित हुन्छ भने आफ्नो गाडीको बायाँतिरको बत्तीले सङ्केत दिनु ।
(३) उसलाई सहज हुने गरी आफ्नो गाडीको गति नियन्त्रण गरेर ओभरटेक गरी जान दिनु ।
(४) अथवा, सडकको बायाँतिर बिसाएर, पछाडि जाममा परेका गाडीहरूलाई अगाडि जान दिनु ।
(५) गाडी बिग्रियो भने सडकको बायाँतर्फ बिसाएर बायाँतिरको बत्तीले वा हाजार्ड बत्तीले सङ्केत दिनु (१५ मिटर दूरीमा कोण राख्नु) ।
(६) बायाँतर्फको बत्तीले सङ्केत दिएको अर्थः ‘बायाँ मोडिनेछु अथवा सडकको बायाँतर्फ बस्नेछु’ भन्ने सङ्केत बुझ्नु ।
(७) त्यसकारण अगाडिको गाडीले बायाँतर्फको बत्तीले सङ्केत दिएको छ भने पछाडिबाट ओभरटेक गरी जान सकिन्छ’ भन्ने सङ्केत बुझ्नु ।
(८) त्यसैगरी दाहिनेतर्फको बत्तीले सङ्केत दिएको अर्थः ‘दाहिनेतिरको लेनमा जाँदैछु अथवा दाहिनेतर्फ मोडिनेछु’ भन्ने सङ्केत बुझ्नु ।
(९) धेरैले उल्टो सङ्केत प्रयोग गरेर हैरान बनाउँछन् ।

(१०) कृत्रिम सङ्केत प्रयोग गर्दा अन्योल भएर दुर्घटना हुन्छ भनी बुझ्नु ।
(११) रातको समयमा, विपरीत दिशाबाट आउने चालकको आँखा तिरमिर हुने गरी हेडलाइट हाई बिममा नबाल्नु ।
(१२) दुर्घटना भयो भने प्राथमिक उपचार गर्नु, पुलिसलाई खबर गर्नु अनि घटनाक्रम नक्सामा उतार्नु ।
(१३) हर्न बजाउँदा सुरक्षित हुन्छु भन्ने भ्रमबाट मुक्त हुनु ।  

(ङ) सडकको जक्सनहरू कसरी पार गर्ने ?
(१) आफू गुडिरहेको सडकबाट बायाँको सडकतर्फ मोडिनु पर्दा; पछाडिको गतिविधि ऐनामा चेक गर्नु, उचित दूरीबाट बायाँतिरको बत्तीले सङ्केत दिनु, गियर घटाउनु, मोडिने ठाउँमा रोक्नु, सडक खाली भएपछि मात्र मोडिनु ।
(२) दाहिनेतर्फ मोडिनु पर्दा; पछाडिको गतिविधि ऐनामा चेक गरेपछि उचित दूरीबाट दायाँतिर सङ्केत दिनु, गियर घटाउनु, मोडिने ठाउँमा रोक्नु, सडक खाली भएपछि मात्रै मोडिनु ।
(३) मोडिनु पर्दा र लेन चेन्ज गर्नु पर्दा, सडक खाली भएपछी मात्रै जानु ।
(४) चक्रपथ पार गर्ने तरिकाः पछाडिको गतिविधि ऐनामा चेक गर्नु, गति घटाउनु, चक्रपथ प्रवेश विन्दुमा रोक्नु (चक्रपथबाट बाहिरिने विन्दुअनुसार लेन छानेर प्रवेश विन्दु रोज्नु), चक्रपथभित्र प्रवेश गरिसकेका, दाहिने तर्फबाट आउने गाडीहरूलाई जान दिनु, खाली भएपछि चक्रपथ प्रवेश गर्नु, बाहिरिने सडकतर्फ निस्कँदा बायाँ बत्तीले सङ्केत दिँदै बायाँ साइड चेक गर्दै चक्रपथबाट निस्कनु ।
(५) ट्राफिकलाइट भएको जक्सनमा; रातो बल्दा रोक्नु, पहेँलो बल्दा तयारी हुनु, हरियो बल्दा जानु ।
(६) एकभन्दा बढी लेन भएको हाई–वे सडकमा चलाउँदा; सबैभन्दा कम गतिमा गुड्ने गाडीलाई सबैभन्दा बायाँछेउको लेनमा चलाउनु ।
(७) बायाँबाट दोस्रो लेनमा सामान्य गतिमा गुड्ने गाडी चलाउनु ।
(८) तेस्रो र चौथो लेन ओभरटेक गर्दा प्रयोग गर्नु । (९) सडकको साइनबोर्डमा देखाइएका ट्राफिक चिह्नहरू बुझेर पालना गर्नु ।
(१०) नबुझी अन्दाजमा नचलाउनु, नबुझिएका कुराहरू सोधेर जानकारी लिनु ।
(११) ड्राइभिङ गर्दा हरेक हर्कतमा पछाडिको अवस्था ऐनामा चेक गर्नु ।
(१२) सडकमा को पहिला र को पछि भन्ने सडकको अधिकारबारे बुझ्नु ।
(१३) सडकलाई सुरक्षित बनाउन सबै चालकको दायित्व बुझ्नु ।
(१४) यात्राको अन्त्यमा, विश्राम लिनुभन्दा पहिला, यात्राको सुरुमा गाडी तयारी गर्दा जे जे चेक गरिएको थियो, त्यही–त्यही कुरा चेक गरेर यात्रा सम्पन्न गर्नु ।
(१५) विस्तारै हाँक्नुभयो भने गन्तव्यमा पुग्नुहुनेछ, तर तीव्र गतिमा हाँक्नुभयो भने के हुन्छ, भन्न सकिन्न । पहिलो दुर्घटना तपाईंको अन्तिम दुर्घटना हुनसक्छ ! विस्तारै चलाएर जीवितै रहनु होला ।  
(भूतपूर्व ब्रिटिस गोर्खा सैनिक क्याप्टेन राई ट्राफिक नियम सचेतनाका अभियन्तासमेत हुन् ।)